शैक्षिक सुधारका लागि प्रधानाध्यापकलाई पाँच लाखसम्म खर्च दिइने

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षदेखि सामुदायिक विद्यालयमा अध्ययन गर्ने कक्षा छ सम्मका विद्यार्थीलाई दिवा खाजा उपलब्ध गराउने भएको छ ।

सरकारले आइतबार प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमार्फत कक्षा आठसम्म दिवा खाजा दिने लक्ष्य रहेको र आगामी आर्थिक वर्षमा कक्षा छ सम्मका लागि व्यवस्था गरिएको छ । सरकारले अहिले कक्षा पाँच सम्मका बालबालिकालाई दिवा खाजा दिएको छ ।

सरकारले सामुदायिक विद्यालयका प्रधानाध्यापकको शैक्षिक नेतृत्व, सीप तथा व्यवस्थापन क्षमता अभिबृद्धि गर्न तालिमको व्यवस्था गर्ने भएको छ ।

विद्यालयको शैक्षिक नतिजाका आधारमा विद्यालय व्यवस्थापन तथा शैक्षिक सुधारका लागि प्रधानाध्यापकबाट पेस भएको प्रस्ताव विद्यालय व्यवस्थापन समितिबाट स्वीकृत भएमा योजना कार्यान्वयनका लागि पाँच लाखसम्म प्रधानाध्यापकले खर्च गर्न पाउने व्यवस्था गरेको छ ।

Previous Post Next Post