एकाग्रता र स्मरणशक्ति बढाउन विपश्यना ध्यान

–गीता पौडेल

भाइबहिनीहरू तिमीहरुले विपश्यना ध्यान विधिको बारेमा सुनेका छौ ? छैनौ भने पनि अनलाइनमार्फत यसको बारेमा जान्न सकिन्छ । यो विधिको अभ्यास गर्नाले बालबालिकाहरुमा एकाग्रता र स्मरणशक्ति बढ्छ, सजगता, शान्तता, आत्मविश्वास र अरूप्रति सदभाव राख्ने क्षमता पनि बढ्दछ ।

यो कुनै व्यसायिक सांस्था या विधि पनि होइन । यो त विशुद्घ सामाजिक सेवाको एउटा अंग हो । नत यो गर्नलाई कुनै शुल्क नै तिर्नुपर्छ । तिमीहरूलाई पढाइमा ध्यान नलाग्ने, पढ्न बसेपछि यताउता मन डुल्ने, मन अशान्त हुने हुन्छ । त्यस्तो भए स्कुल छुट्टी भएका बेलामा के गर्छौ ? खेलेर वा टिभी हेरेर दिन बिताउनभन्दा ध्यान गर्नमा पनि समय छुट्याउन सके यस्ता समस्याबाट मुक्त भइन्छ । यस्तै समस्याबाट मुक्तिका लागि शिवपुरी राष्ट्रिय निकुञ्ज नजिकै रहेको शान्त र घनघोर जंगलको बीचमा नेपाल विपश्यना ध्यान केन्द्र अर्थात तपोभूमि धर्मशृङ्गमा सञ्चालन हुने विपश्याना ध्यानले तिमीहरूलाई फाइदा पुर्‍याउन सक्छ । फेरी यस्तो ध्यान त ठूला मान्छेले मात्र गर्छन भन्ने लाग्ला । आठ वर्षदेखि १८ वर्षसम्मका बालबालिका तथा किशोरकिशोरीहरूका एकदेखि तीन दिने विपश्याना परिचयात्मक आनापाना ध्यान शिवीर विपश्याना केन्द्रहरूमा सञ्चालन गरिन्छ । विपश्याना आनापाना ध्यान गर्नभन्दा अगाडि यसको बारेमा बुझ्न जरूरी हुन्छ । आनापाना भनेको आना(भित्रबाट आएको स्वास) र पाना(बाहिर गएको स्वास) मा आधारीत ध्यान अभ्यास हो । ध्यानको समयमा दुबै आँखा र मुख बन्द गरी, ढाड/कम्बर सिधा बनाएर बस्नुपर्दछ । यस परिचयात्मक आनापाना ध्यान नै विपश्याना ध्यानको पहिलो खुट्किलो हो । जुन बालबालिका तथा किशोरकिशोरीहरूले सिक्ने अवसर प्राप्त गर्नेछन् । आनापाना ध्यानको नियमित अभ्यासले अनेक लाभ प्राप्त हुन्छ । उदाहरणस्वरूप एकाग्रता र स्मरणशक्ति बढ्छ, सजगता, शान्तता, आत्मविश्वास र अरूप्रति सदभाव राख्ने क्षमता पनि बढ्दछ ।

के हो विपश्याना आनापाना ध्यान ?

विपश्याना आनापाना ध्यान एक सरल र उपयोगी ध्यान विधी हो, जसको शाब्दिक अर्थ ‘वि’ (राम्ररी) र ‘पश्यना’ हेर्नु हो । यसरी विपश्याना शब्दको अर्थ हुन्छ आफैभित्र राम्ररी हेर्नु भन्ने हुन्छ । यसकै प्रयोगबाट मनलाई वास्तविक शान्ति प्राप्त हुन्छ । यसको अभिप्राय हो, जुन स्थिति जस्तो छ त्यसलाई उस्तै जान्नु । यसको लागि आनापाना महत्वपूर्ण खुट्किलो मानिएको हो जसको अभ्यासका क्रममा आत्मनिरीक्षणद्घारा मन निर्मल गर्दागर्दै यस्तो अनुभव हुन थाल्दछ । हामी आफ्नै अनुभवले के जान्दछौं भने, हाम्रो मन कहिले विचलित हुन्छ, कहिले हताश त कहिले असन्तुलित । यी कारणले जब हामी व्यथित हुन्छौं तब आफ्नो व्यथा आफुमै सीमित नराखी अरूलाई पनि बाँड्न थाल्दछौं । स्वयं सुख शान्तिको जीवन जीउनँ र अरूलाई पनि यस्तो जीवन जीउन दिन खोज्छौं, तर त्यस्तो गर्न सक्दैनौं । अत: प्रश्न उठ्छ कसरी सन्तुलित जीवन जिउने ? विपश्यानाको निरन्तर अभ्यासले हामीलाई यस योग्य बनाउँछ कि आफुभित्र शान्ति र सामन्जस्यता अनुभव गर्नुका साथै यसले चित्तलाई निर्मल बनाउँछ । चित्तको व्याकुलता र त्यसको कारणलाई हटाउँदै लैजान्छ । यसको अभ्यास गरीरहेमा क्रमश: अगाडि बढ्दै आफ्नो मानसलाई विकारबाट मुक्त बनाउनुको साथै नितान्त बिमुक्त अवस्थाको साक्षात्कार गर्न सकिन्छ । मानिसको दु:खको प्रमुख कारण राग द्वेष र मोह हो । मानिसमा शारीरिक र चेतनिक गरी दुई खालका संवेदना पैदा हुन्छन् । यी संवेदना अस्थायी र अनित्य छन् । यी नै अस्थायी र अनित्य संवेदनाको कारण मानिस दु:खी हुन्छ । अत: यस अवस्थालाई हटाएर आफ्नो यथार्थ अवस्थामा रहनका लागि यसको अभ्यास गरिन्छ । बुद्धको अत्यन्त महत्वपूर्ण खोज छ– वस्तुलाई जे जस्तो छ त्यसै रूपमा जान्ने शिक्षा । अर्थात यो दुनियाँ परिर्वतनशील छ । मानिसको जीवनसमेत परिर्वतनशील र अनित्य छ । जन्मपछि मुत्यु अनिवार्य छ । यस दुनियाँमा कोही पनि अजर अमर छैन । प्रत्येक जीव र निर्जीव वस्तुहरु निरन्तर परिवर्तनशील अवस्थामा रहन्छन् । भनिन्छ ठीकसँग ११ दिवसीय शिविरमा बसेको र नियमित विपश्यनाको अभ्यास गर्ने विद्यार्थी कहिल्यै दोस्रो हुँदैन सधै प्रथम हुन्छ । भारत र विश्वकै ठूला कम्पनीहरूले आफ्ना प्रबन्धकहरूलाई कार्यक्षमता बृद्धि, रचनात्मक र सकारात्मक पहलकदमीको विकासका लागि समय समयमा विपश्यना शिविरमा पढाउने गर्दछन् ।

विपश्यना आनापाना ध्यान र परिवर्तन

विपश्यना आनापाना ध्यान विधी एउटा यस्तो बाटो हो जसले सबै दु:खबाट छुटकारा दिन्छ । तिमीहरूजस्ता धेरै बालबालिका तथा किशोरकिशोरीहरू यसको अभ्यासबाट लाभान्वित भइसकेका छन् । यसबाट राग, द्घेष र मोह हट्दछ जुन हाम्रो दु:खको कारण हो । यसको अभ्यास गर्नेहरू अलि–अलि गरेर आफ्नो दु:खको कारणबाट पर हुँदै जान्छन् र दृढताकासाथ मानसिक तनावबाट बाहिर निस्केर सुखी, स्वस्थ र सार्थक जीवन जीउन थाल्छन् । यसको निरन्तर अभ्यासले मन एकै ठाउँमा रहन लाग्छ र मनको भय/चिन्ता हट्छ । हड्बडाउ र नर्भसहुनेका लागि पनि यो लाभदायक हुन्छ । यसले पढाई, खेलकुद वा अन्य अतिरिक्त क्रियाकलापमा पनि चनाखो बनाउँदै लैजान्छ । यसले आत्मविश्वास बढाएर कुनै पनि कुनै पनि कुरा बुझ्ने र बुझाउने शक्ति बढाउँदै लैजान्छ । होसियारी/सजगता साथै यसले मनलाई पनि बलियो बनाउँदै लैजान्छ । भारतका विभिन्न कारागार, सैनिक केन्द्र तथा प्रहरी विभागहरूमा गोयन्काले सञ्चालन गरेको विपश्यनाको प्रयोगले विभिन्न परिवर्तनका उदाहरण देखाएको थियो । गोयन्काले केन्द्रय कारागार जयपुरमा १२० बन्दीहरूमा सञ्चालन गरेको ऐतिहासिक शिविर भारतकै दण्ड व्यवस्थाको इतिहासमा पहिलो प्रयोग बनेको थियो । उनले राजस्थान, जयपुरमा प्रहरी विभागका अधिकारीहरूको लागि तथा सन् १९९४ मा दिल्लीको तिहाड कारागारमा हजारभन्दा बढी मानिसको लागि शिविर सञ्चालन गरिएको प्रसङ्गबाट के संकेत मिल्छ भने विपश्यना ध्यान सकारात्मक सुधार ल्याउने एक यस्तो उपाय हो जसले अपराधी पनि समाजको असल सदस्य बन्न सक्छ । गोयन्कालाई विपश्यना सिकाउने आचार्य सयाजी उ बा खिन स्वयंको सेवाकाल यस कुराको प्रमाण हो सरकारी तन्त्रमा यस विधिले कस्तो सुधार आउन सक्छ । सयाजी अनेक सरकारी विभागका अध्यक्ष थिए । आफ्नो मातहतका कर्मचारीलाई विपश्यना ध्यान सिकाएर उनीहरूमा कर्म, निष्ठा, अनुशासन तथा नैतिकताको अझ बढी विकास गर्न सफल भएका थिए ।

विपश्यानाको ऐतिहासिक पृष्ठभूमि

विपश्याना एक अत्यन्त पुरानो ध्यानविधी हो । लगभग २५ सय वर्ष पूर्व गौतमबुद्घले यस विद्यालाई पुन: प्रकाशमा ल्याएको बताइन्छ । बुद्घले आफुले अनुभव गरेको ज्ञान पैतालिस वर्षसम्म अरूलाई बाँडेका थिए । बुद्घकै समयमा धेरै सङ्ख्यामा उत्तर भारतका मानिसहरू विपश्यानाको अभ्यासले आ–आफ्नो दु:खबाट मुक्त भए र जनजीवनका प्रत्येक क्षेत्रमा उच्च उपलब्धी प्राप्त गरे । समयको साथसाथै यो विधी छिमेकी देशहरू बर्मा, श्रीलंका, थाइलैण्डलगायतका देशमा फैलियो त्यहाँ पनि कल्याणकारी सिद्घ भएको यो विद्या बुद्घको महापरिनिर्वाणको लगभग पाँच सय वर्षपछि भारतबाट लुप्त भएको थियो । अरू देशमा पनि यसको शुद्घता नष्ट भयो । केबल बर्माको म्यानमारमा मात्र यस विधिप्रति समर्पित शिक्षकहरूको एक समूहले गुरू शिष्य परम्पराले यस विधिलार्ई अक्षुण्ण रूपमा सञ्चित राखे । यही परम्पराका प्रख्यात आचार्य सयाजी उवा खिनले विपश्याना सिकाउन सन् १९६९ मा सत्यनारायण गोयन्कालाई गरेका थिए ।  गोयन्काको अथक प्रयासले हाल यो विद्या भारत र नेपालमा मात्र होइन विश्वका ८१ भन्दा बढी मुलुकका मानिसहरूले विपश्याना ध्यानको लाभ उठाइरहेका छन् । भारतमा जुलाई १९६९ देखि विपश्याना शिविर सञ्चालन शुरू गरेका थिए । त्यसको दश वर्षपछि उनले विदेशमा पनि यसको प्रशिक्षण दिन शुरू गरे । विगत २५ वर्षमा उनले चार सयभन्दा बढी दशदिवसीय विपश्याना शिविर सञ्चालन गरी सकेका छन् । उनले पाँच सयभन्दा बढी सहायक (शिक्षक)आचार्यहरूलाई नियुक्त गरेका छन् । उनीहरूले विश्वभरमा हजारौं शिविर सञ्चालन गरिसकेका छन भने यसका अतिरिक्त विपश्यना अभ्यासको लागि सय भन्दा बढी केन्द्रहरू स्थापना भइसकेका छन् । जसमध्ये नेपालमा सात शिविर रहेका छन, भने भारतमा पचासौंको सङ्ख्यामा यस्ता शिविर रहेका छन् ।

नेपालमा विपश्यना

नेपालमा सन् १९८१ मा सर्वप्रथम विपश्याना शिविर सञ्चालन गरियो । काठमाडौंस्थित आनन्दकुटी विहारमा सत्यनारायण गोयन्काले सञ्चालन गरेको उक्त शिविरमा २५० जनाको सहहभागिता रहेको थियो । यसकै निरन्तरतास्वरूप नेपाल विपश्यना केन्द्र, धम्मश्रृङ्गको स्थापना भएको हो । करिब तीन एकड जमीनमा अवस्थित धम्मश्रृङ्गमा हाल प्रत्येक अंग्रेजी महिनाको १ र १४ तारिख, महिनाको दुई पटक शिविर सञ्चालन भइरहेको छ । यसै केन्द्रमा तिमीहरूका लागि पनि बेलाबेलामा आनापाना ध्यान शिवीर सञ्चालन भइरहन्छ । नेपालका अन्य केन्द्रहरूमध्ये पर्सा जिल्लामा धम्मतराई, धम्म विराटइटहरीमा, धम्मजननी लुम्बिनीमा, धम्मकित्ति किर्तिपुर, धम्मपोखरा पोखरा, चितवनस्थित धम्मचितवनलगायतका ठाउँमा ध्यान शिविरहरूको आयोजना गरिन्छ । राजधानीमा तीन दिने विपश्यना आनापाना ध्यानका अलावा एकदिने पुर्नताजगीका लागि विभिन्न संस्थाहरू क्रियाशील छन् । जमलस्थित ज्योति भवनमा रहेको नेपाल विपश्यना केन्द्र, किर्तिपुरस्थित केन्द्र, पुल्चोकस्थित अक्षेश्वर महाबिहार, भिमसेनस्थानस्थित परोपकार स्कुल, रामकोट, पूर्णचण्डी ललितपुरस्थित आसरा स्कुल, लगनखेलस्थित युवक बौद्घ मण्डललगायतका स्थानहरूमा एक दिने पुर्नताजगी ध्यान शिविर सञ्चालन हुने गर्दछ ।

Previous Post Next Post