संघीय सरकारले दिँदै आएको बालविकास शिक्षकको तलबमा दुई हजार थप

 

काठमाडौं । सरकारले बालविकाश शिक्षकको तबल बृद्धि गरी १० हजार रुपियाँ पु-याएको छ । मंगलबार प्रतिनिधि सभाको बैठकमा सांसदहरुले सोधेको प्रश्नको जवाफ दिँदै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले बालविकाश शिक्षकको तबल बृद्धि गरी १० हजार रुपियाँ पु-याइएको बताउनुभएको हो ।

मन्त्री पौडेलले २०७८।७९ मा संघीय सरकारले दिँदै आएको आठ हजारमा दुई हजार थप गरी १० हजार तलब बनाइएको बताउनुभयो ।

‘चालु आर्थिक वर्ष २०७८।७९ मा संघीय सरकारबाट आठ हजार र स्थानीय तहबाट सात हजार गरी न्यूनतम मासिक १५ हजार उपलब्ध हुने व्यवस्था गरिएको जानकारी दिंदै उहाँले भन्नुभयो बालविकाश शिक्षकको हकमा संघीय सरकारबाट दुई हजार थप गरी १० हजार उपलब्ध गराउने गरी बजेटको व्यवस्था गरिएको छ ।’

आगामी तीन वर्षमा सबै सामुदायिक विद्यालयको न्युनतम भौतिक पूर्वाधार विकास गर्न कार्यक्रम तय गरिएको उहाँले जानकारी दिनुभयो ।

गुणस्तरयुक्त शिक्षाको विकास सरकारको प्रमुख प्राथमिकतामा रहेको भन्दै मन्त्री पौडेलले शैक्षिक गुणस्तर अभिबृद्धिका लागि सबै माध्यमिक विद्यालयमा विज्ञान प्रयोगशाला विस्तार तथा सुदृढीकरण, सूचना प्रविधि प्रयोगाशाला स्थापना तथा शिक्षण सिकाइमा सूचना प्रविधिको प्रयोग, विद्यालयमा विषयगत शिक्षकको सुनिश्चितताका लागि गणित, विज्ञान तथा अंग्रेजी विषय शिक्षकको व्यवस्था गर्न कार्यक्रम प्रस्ताव गरिएको बताउनुभयो ।

शैक्षिक सत्र २०७९ मा विद्यार्थीका लागि नि:शुल्क पाठ्यपुस्तक व्यवस्थापन गर्न कक्षा १ देखि १२ सम्मको पाठ्यपुस्तक जनक शिक्षा सामग्री केन्द्रबाट छपाइ तथा वितरण हुने व्यवस्था भएतापनि कक्षा १-३ को पाठ्यपुस्तक नीजि प्रकाशकबाट र कक्षा ११/१२ को साझा प्रकाशनमार्फत समेत छपाइ तथा वितरण हुने व्यवस्था मिलाइएको मन्त्री पौडेलल बताउनुभयो ।

उहाँका अनुसार जनक शिक्षा  सामग्री केन्द्रबाट कक्षा ४(१० सम्मका विद्यार्थीका लागि जम्मा एक करोड ९६ लाख थान पाठ्यपुस्तक छपाइ गरी वितरण गर्नु पर्नेमा हालसम्म एक करोड ७० लाख थान छपाइ तथा वितरण भइसकेको भन्दै बाँकी छपाइ सम्पन्न हुने क्रममा रहेको छ । नीजि प्रकाशकबाट छपाइ एवं वितरण काम भइरहेको उहाँले जानकारी दिनुभयो ।

Previous Post Next Post