समता शैक्षिक गुठीलाई हिमालयनको २५ लाख रुपियाँ सहयोग

काठमाडौं । हिमालयन डिस्टिलरीले समता शैक्षिक गुठीलाई २५ लाख रुपियाँ सहयोग गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्वअन्तरगतको उक्त सहयोग रकम डिस्टिलरीका अध्यक्ष अखिलेश्वरप्रसाद सिंहले गुठीका संस्थापक उत्तमकुमार सञ्जेल र निर्देशक दिनेश सञ्जेललाई हस्तान्तरण गर्नुभएको हो । कम्पनीले आव २०७७/७८ मा शिक्षा क्षेत्रका लागि छुट्याएको रकममध्येबाट समता शैक्षिक गुठीलाई सहयोग गरेको जनाएको छ ।

समता शैक्षिक गुठीले देशभर ८४ विद्यालय सञ्चालन गरेको छ । जसमा कक्षा एकदेखि स्नातकोत्तरसम्मका शैक्षिक कार्यक्रम सञ्चालित रहेका र करिब ७० हजार विद्यार्थी लाभान्वित भएको गुठीले जनाएको छ ।

गुठीले प्रतिविद्यार्थी प्रतिमहिना एक सय रुपियाँमात्र शैक्षिक शुल्क लिएर समुदायका विपन्न वर्ग, दैनिक ज्यालादारीमा काम गर्ने मजदुरका सन्तान, टुहुरा तथा सडक बालबालिकालाई अध्यापन गराउँदै आएको छ ।

Previous Post Next Post