विद्यालयबाट संसद भवन गएको दिन

अनिशा खनाल

सदा झैँ हजुरआमाको ‘‘नानी, अब उठ्ने होइन ?ू भन्ने आवाजले ५:३० बजे नै मेरा आँखा खुल्न पुगे । मैले आफ्ना नित्यकर्म सकाएर विद्यालय जानका लागि तयार भएँ । बिहानीको हिडाइले शरीरलाई धेरै फाइदा दिने भएकाले म हिडेर विद्यालय पुगेँ । आज त झन संसद भवन जाने भनिएकाले म निकै खुसी र उत्साहित पनि थिएँ ।

बिहानका कक्षाहरु समाप्त भएपछि घर जान लाग्दा विमल सरले संसद भवनमा पालना गर्नुपर्ने नियमहरु भन्नका लागि एकैछिन कक्षाकोठा मै बस्न आग्रह गर्नुभयो । ११ बजेबाट संसद बैठक आरम्भ हुन्छ भन्ने जानकारी गराइएको थियो । हामी विद्यालयबाट १०:२० मा नै विद्यालयका प्रधानाध्यापक विमल घिमिरे र सहप्रधानाध्यापक खगेश्वर गिरी सरहरूसँगै २ बटा विद्यालयका गाडीमा गएका थियौं ।

सोहीअनुसार हामी पनि ११:०० बजे नै सांसद बस्ने स्थानभन्दा माथिको बाल्कोनीमा बसेर सांसद तथा मन्त्रीहरुको प्रतीक्षा गर्न लाग्याँै । सांसद बस्ने स्थानको अगाडिको बिचभागमा सभामुखको आसन रहेछ । सभामुखको आसनको दाहिनेपट्टि  महासचिव बस्ने कुर्ची र वाँयापट्टि कर्मचारीका लागि ३ वटा कुर्ची छुट्टाइएका रहेछन्  । बायाँ छेउमा कर्मचारीका लागि क्याविन बनाइएको रहेछ भने दायाँ छेउमा सांसद तथा मन्त्रीहरु बोल्ने रोस्टम रहेछ । हलका विभिन्न ठाउँमा टेलिभिजनका स्व्रिmनहरु राखिएका रहेछन् । त्यस्तो व्यवस्थित हल देख्दा गदगद भएँ ।

ठिक ११:१५ बजे सभामुखले शून्य समय प्रारम्भ भएको जानकारी दिँदै सांसदहरुलाई १ मिनटमा आफ्ना कुरा सक्न निर्देशन दिनुभयो । कतिपय माननीय सांसदले १ मिनेटमा आफ्ना कुरा नसक्दा माइक नै काटिँदो रहेछ, तैपनि उहाँहरुले आफ्ना कुरा सिध्याएर मात्रै बस्नुभयो । मलाई त्यो देख्दा क्या रमाइलो लाग्यो ।

धेरैजना माननीयहरुले आफ्ना कुरा राख्नुभयो । हामीले उहाँहरूका कुरा चाख मानेर सुनीरह्यौँ । सबैभन्दा रमाइलो त गुल्मीकी माननीय सांसद मायादेवी न्यौपानेले गीतबाट आफ्ना भनाइ प्रस्तुत गर्दा आयो ।

                आयो लाहुरे झिटी गुन्टा बोकेर 

                गयो लाहुरे खरानी घसेर ।

फेरि सभामुखद्वारा विशेष समय प्रारम्भ भएको घोषणा भयो र वक्तालाई ३–५ मिनेटको समय प्रदान गरियो । माननीय सांसदहरुले आफ्नो निर्वाचन क्षेत्र र समसामायिक देशका समस्यालाई जोडतोडले उठाउनुभयो । कतिपय विमातृभाषी माननीयले कापी हेरेर अशुद्ध पढेको सुन्दा भने मन नै खिन्न भयो तैपनि उहाँहरुको आत्मविश्वास र कुराहरुले हामी सबैलाई प्रेरित गरायो । मेरा आँखाले मेरो जिल्लाबाट चुनिनुभएका सांसदलाई खोजेका थिए तर निराशा मात्र हात लाग्यो ।

संसदका विधेयक पास गर्ने प्रव्रिmया भने मलाई साना केटाकेटी खेले झैँ लाग्यो । विधेयकको पक्षमा हुने माननीयज्यूहरुले ‘हुन्छ’ भन्नुहोस् भन्दा त्यहाँका अधिकांश माननीयज्यूहरुले जोडले कराएर ‘हुन्छ’ भन्नुभएको थियो । अनि विधेयक पास भयो । त्यसरी चिच्याएर ‘हुन्छ’ भनेको सुन्दा हामीलाई अचम्म लाग्यो ।

त्यहाँबाट विद्यालय फर्किसकेपछि पनि त्यहाँका गतिबिधि आँखामा झल्किरहेका थिए । विद्यालयबाट घर फर्कने बेलामा पनि हामी त्यसै विषयमा छलफल गर्दै आयौँ । हामी संसद भवनबाट निस्किएको केही समयमै  कोरम नपुगेका कारण संसद स्थगन भएको रहेछ  । बेलुकी घरमा गएर एकछिन समाचार हेर्दै गर्दा कोरम नपुगेको  समाचारले धेरै कुरा सोच्न बाध्य बनायो । आखिर कानुन बनाउने जिम्मेवारी पाउनुभएका माननीयहरू कहाँ जानुभएको होला ? उहाँहरू हरेक दिन संसदमा गएर संसद चल्दासम्म बस्नुपर्ने होइन र ?

मेरै जिल्लाबासी उपसभामुख पुष्पा भुसालले बैठक सन्चालन गरेको देख्दा हर्षको सीमा रहेन । घर आएपछि मैले ूम पनि एकदिन संसदको सभामुख हुन्छुू भन्दा सबैजना हाँस्नुभयो । आजको धेरै समय संसद भवनमै बिताएकाले त्यती धेरै गृहकार्य पनि थिएन ।

हाम्रो विद्यालयमा हुने यस्ता भौगोलिक अध्ययन भ्रमण तथा परियोजना कार्यमा म असाध्यै रमाउने गर्छु । यसरी पढ्दा कहिल्यै नबिर्सने गरी दिमागमा रहन्छ । नयाँ कुरा सिक्न पाएकोमा आजको दिन मेरा लागि फाइदाजनक रह्यो । संसद भवनका गतिबिधि सोच्दा सोच्दै म १० बजे नै निन्द्रा देवीको काखमा लुटपुटिन पुगेँ ।

(लेखक खनाल काठमाडौंको शंखमूलस्थित अवार्नेस इन्टरनेशनल स्कुलमा कक्षा १० मा अध्ययनरत हुनुहुन्छ ।)

Previous Post Next Post