अंग्रेजी फौजलाई परास्त गरेको दिनको सम्झनामा सिन्धुलीगढीमा चित्रकथा सार्वजनिक

सिन्धुली । सिन्धुलीगढीमा तत्कालीन अंग्रेजी फौजलाई परास्त गरेको दिनको सम्झनामा शनिबार आयोजित विजयोत्सवका अवसरमा सिन्धुलीगढी चित्रकथा सार्वजनिक गरिएको छ । समृद्ध सिन्धुली अभियान, स्टोरी साइकल र सिन्धुलीय श्रेष्ठ समाजले प्रकाशन गरेको चित्रकथा कमन्ताहरु लीलानाथ घिमिरे, हरिकृष्ण श्रेष्ठ, भुवन थापालगायतले सिन्धुलीगढीमा आयोजित एक कार्यक्रमबीच सार्वजनिक गर्नुभयो ।

सिन्धुलीगढी भारतमा शासन गरिरहेको तत्कालीन अंग्रेज सेनालाई काठमाडौंतर्फ आउँदै गर्दा गोर्खाली फौजले पराजित गरेर लखेटेको ऐतिहासिक स्थल हो । पृथ्वीनारायण शाहको नेपाल एकिकरण अभियानलाई रोक्न आएका अंग्रेजी फौजलाई विक्रम संवत १८२४ को असोज १५ गते वीर गोर्खालीले सिन्धुलीगढीमा घरेलु हतियारको भरमा लडेर परास्त गरेका थिए । संसारमा आफ्नो साम्राज्य खडा गर्न अगाडि बढेको बेलायती साम्राज्यलाई परास्त गरेको सम्झनामा हरेक बर्ष असोज १५ गते विजयोत्सव मनाइन्छ । सिन्धुलीगढी किल्ला विक्रम संवतको १४ औं शताब्दीमा स्थापना भएको इतिहासकारहरुको भनाई छ ।

सिन्धुलीगढीको संरक्षण गर्ने जिम्मेवारी लिएको कमलामाई नगरपालिकाले भने गलत मितिमा विजयोत्सव मनाउने गरेको छ । उसले इतिहासलाई बंग्याउने काम गरेको इतिहासविद्हरुले बताउँदै आएका छन । इतिहासकारहरुसँगको छलफलपछि समृद्ध सिन्धुली अभियानले अंग्रेजलाई परास्त गरेको दिन असोज १५ प्रमाणित भएकाले त्यही दिन विजयोत्सव मनाउन थालेको हो ।

कमलामाई नगरपालिकाकी उपप्रमुख देवकोटाले पहिले गलत मितिमा विजय दिवस मनाइँदै आए पनि अब असोज १५ मा अंग्रेजी सेनालाई परास्त गरेको इतिहास प्रमाणित भइसकेकाले सोही मितिमा विजय दिवस मनाउनुपर्ने बताउनुभयो । उहाँले नगरपालिकाको बोर्डमा आफूले सही मितिमा विजय दिवस मनाउन प्रस्ताव गर्ने बताउँदै इतिहहासलाई कसैले पनि बंग्याउन नहुने उल्लेख गर्नुभयो ।

कार्यक्रममा समृद्ध सिन्धुली अभियानका अभियन्ता लीलानाथ घिमिरेले अंग्रेजलाई परास्त गरेकै मितिमा मितिमा विजय दिवस मनाउनुपर्ने बताउँदै बिजयोत्सव भने वर्षभरि मनाउन सक्ने बताउनुभयो । उहाँले समृद्ध सिन्धुली अभियानले सिन्धुलीगढीको प्रबर्धन गर्न विभिन्न कार्यक्रम गर्दै आएको बताउँदै कमलामाई नगरपालिकासँग मिलेर यसको विकासमा सहकार्य गर्न चाहेको बताउनुभयो । अर्का अभियन्ता हरिकृष्ण श्रेष्ठले अभियानले सिन्धुलीगढीमा तत्कालीन ब्रिटीस कम्पनीको सेनालाई पराजित गरेको दिनको सम्झनामा काठमाडौंदेखि सिन्धुलीगढीहुँदै जनकपुरसम्म हरेक बर्ष गर्दै राइड थ्रु सिन्धुलीगढी साइकल यात्रा गर्दै आएको जानकारी दिँदै कोभिड महामारीका कारण रोकिएको साइकल यात्रा आगामी फागुनमा साइकल यात्रा गर्ने योजना अभियानले बनाएको जानकारी दिनुभयो । साइकल यात्रामाफर्त ऐतिहासिक सिन्धुलीगढीको प्रबर्धन गर्न अभियानले ब्यसाययिक यात्रा गराउन थालेको हो ।

अभियानले सिन्धुलीगढीको प्रबर्धन गर्न पर्यटन बोर्डसँग मिलेर काठमाडौंलगायत देशका विभिन्न स्थानमा तस्बिर प्रदर्शनी फोटो सिन्धुली आयोजना गरेको छ ।

यसैगरी सिन्धुलीका दुई वटा ऐतिहासिक गढीहरु हरिहरपुर गढी र सिन्धुलीगढी जोड्ने पदमार्ग निर्माणको कामको पनि अभियानले थालनी गरेको थियो । अभियानले पहिलो खण्ड हरिहरपुरगढीको घण्टेदेखि मरिण गाउँपालिकाको सीमाना सेपाहासम्म पदमार्ग निर्माण सम्पन्न गरेको छ । पृथ्वीनारायण साहकी पत्नी इन्द्रकुमारीले घन्ट चढाएको घण्टेस्थित महादेवको मन्दिरबाट पदमार्ग निर्माण गरिएको हो ।

यस्तै काभ्रेको नमोबुद्धदेखि ऐतिहासिक सिन्धुलीगढीहुँदै सिन्धुलीकै फिक्कलसम्म महाभारतडाँडैडाँडा पदमार्गको पनि अभियानले अध्ययन गरेको थियो ।

Previous Post Next Post