फूलको हार्दिकतामा प्रतिबिम्बित जीवनको हार्दिकता

टङ्कप्रसाद पन्थ

अर्घाखाँचीमा जन्मेर जीवनको सङ्घर्षमा अगाडि बढ्ने क्रममा अहिले काठमाडौँलाई कर्मथलो बनाएका साहित्यकार ओम आचार्य ३०३५ सालबाटै औपचारिक रूपमा साहित्य साधनामा लागेको देख्न सकिन्छ । ‘यहाँ छैन ब्रह्मले रचेको मानव’ (२०३५) यिनको पहिलो प्रकाशित रचना रहेको छ । लामो समयसम्म जागिरे जीवनमा तल्लीन रहँदा यिनको प्रतिभा सुषुप्त अवस्थामा रहेको पाइन्छ । अवकाशप्राप्त जीवनमा भने यिनी सक्रिय रूपमा साहित्य सिर्जनामा लागेको देख्न सकिन्छ । यिनले विभिन्न पत्रपत्रिकामा कविता, कथा, हाइकु, छेस्का, साइनोलगायतका विविध विधामा रचनाहरू सिर्जना गरेको देखिन्छ । २०७८ सालको माघमा आएर यिनले ‘फूलको हार्दिकता’ शीर्षकको पहिलो कवितासङ्ग्रह प्रकाशनमा ल्याएका छन् । नेपाली कविताका विविध रूपहरूमा कलम चलाउने आचार्यभित्र मानवीय संवेदना भाव र युगीन चेतना प्रबल बनेर आएको देख्न सकिन्छ । आलोक पुस्तकालय सन्धिखर्क, पाणिनि साहित्य प्रतिष्ठान अर्घाखाँची, भूगोल साहित्य समाज काठमाडौँ तथा छेस्का साहित्य नेपालसँग आबद्ध रहेका आचार्य पछिल्लो समयमा साहित्यमा समर्पित भएर लागेको पाइन्छ । तेत्तिसवटा कविताहरू सङ्गृहीत प्रस्तुत सङ्ग्रहमा समकालीन नेपाली समाजका वास्तविकताहरू प्रतिबिम्बित भएर आएको पाइन्छ ।

फूलको हार्दिकता

कवि ओम आचार्यद्वारा लिखित ‘फूलको हार्दिकता’ कृति २०७८ साल माघमा प्रकाशित भएको हो । भूगोल साहित्य समाज काठमाडौँले प्रकाशनमा ल्याएको यो कृति ओम आचार्यको पहिलो कृति हो । समालोचक धर्मराज अधिकारीको ‘कवि र कविता’ शीर्षकमा भूमिका मन्तव्य रहेको छ । यसै गरी भूगोल साहित्य समाजका अध्यक्ष विनोद नेपालको प्रकाशकीय लेखन तथा स्वयं कविको ‘स्वअनुभूति’ शीर्षकमा लेखकीय मन्तव्य रहेको छ । आफ्ना अग्रजहरूपति कृतिलाई समर्पण गरी पाठक समक्ष प्रस्तुत गरिएको छ ।

संरचनागत आयाम

पुस्तकको आकारलाई हेर्दा डिमाइ साइजमा आकर्षक आवरामा निर्माण भएको देखिन्छ । भूमिका, प्रकाशकीय तथा स्वअनुभूतिका साथै तेत्तिसवटा कविताले कुल पन्चानब्बे पृष्ठ ओगटेको छ । पृष्ठ अठारसम्म भूमिकाखण्ड रहेको छ भने पृष्ठ उन्नाइसदेखि पन्चानब्बेसम्म कविताहरूको प्रस्तुति रहेको छ । हरियो भुइँमा शीर्षक तथा फूलको आकृतिमा सुनौला रङले पोतिएको आवणपृष्ठ सुन्दर र आकर्षक रहेको छ । आवरणपृष्ठको पश्चभागमा पनि हरियो पृष्ठभूमिमा कविको प्रतिबिम्ब, छोटो परिचयात्मक झलक र प्रकाशकको लोगो उल्लेख गरिएको छ । कविताको आयामगत संरचनालाई हेर्दा ज्यादै छोटा र ज्यादै लामा नभई मझौला संरचनामा निर्मित भएको देखिन्छ । तेइसवटा कविता दुई/दुई पृष्ठमा, नौवटा कविता तिन/तिन पृष्ठमा र एउटा कविता चार पृष्ठमा संरचित भएको देखिन्छ । गद्यलयमा निर्मित कविताको श्लोक वा अनुच्छेदको विन्यास पनि सचेत रूपमा भएको देख्न सकिन्छ । फुटकर रूपको प्रकृतिलाई ख्याल गरी लेखिएका कविताहरू आयामगत हिसाबले उपयुक्त रहेको पाइन्छ ।

भावविन्यास

स्रष्टाले जीवनका घत–विघत र वास्तविकतालाई नियालेको हुन्छ । जीवन सङ्घर्षभित्र पनि अथाह सौन्दर्यको अनुभूति गरी सिर्जनामा सजाउने काम स्रष्टाको हो । विसङ्गति र प्रतिकूलताभित्र सङ्गतिको खोजी गरी जीवनलाई अनुकूल बनाएर प्रस्तुत गर्ने काममा स्रष्टाको महत्त्वपूर्ण भूमिका रहेको हुन्छ । कवि ओम आचार्यका कविताहरू पढ्दै जाँदा मानवीय संवेदनाका साथमा जीवनबोधको अभिव्यक्ति पाउन सकिन्छ । यस कवितासङ्ग्रहमा व्यक्ति जीवनका झलकदेखि समाज, परिवेश, राष्ट्र, राष्ट्रियता र कर्तव्यबोधका भावहरू सल्बलाएर आएको देख्न सकिन्छ । जीवनबोधका साथै मानवीय अस्तित्वबोध पनि यहाँ अभिव्यक्त भएको छ । नेपालीको वास्तविक यथार्थलाई झल्काई भोक मार्नका लागि विदेशी भूमिमा भौतारिनुपर्ने नियतिलाई सूक्ष्म रूपमा उद्घाटन गरिएको छ । राष्ट्रले नागरिकलाई रोजगारी नदिँदा भौतारिनु पर्ने आम नेपालीको मर्मलाई ‘मेरो पेट’ शीर्षकको कवितामा यसरी व्यक्त गरिएको छ :

कहिले दरबान बनाउँछ

मुङलानतिर

कहिले भाडाको सिपाही बनाएर

बदनाम गराउँछ छिमेकतिर

त्यतिले नपुगेर आजभोलि

मरुभूमिको तातो भुङ्ग्रोमा

गोठाला गर्न पठाउँछ खाडीतिर

कठ्याङ्ग्रिने हिउँको चिसोमा

चोंचेको गोबर सोत्तर गर्न पठाउँछ कोरियातिर

गधा जस्तै बोझा बोक्न पठाउँछ अरू धेरैतिर । (पृ.  १९)

समयको गतिसँगै मानिसले भोग्नुपर्ने नियतिलाई यहाँ मार्मिक रूपमा झल्काइएको छ । जीवनयात्रालाई सहज रूपमा अगाडि बढाउनका लागि अनुकूल अवस्थाको खोजी  कवितामा पाउन सकिन्छ । यसै गरी सहरिया जीवनको आडम्बरपूर्ण यथार्थको चित्रण पनि यहाँ पाउन सकिन्छ । वर्तमानका कमजोरीहरूको सुधारका साथै भविष्यप्रतिको आशा र सम्भावनाका स्वरहरू कवितामा व्यक्त भएको पाइन्छ । कविभित्र मानवीय संवेदना भाव प्रबल बनेर रहेको देख्न सकिन्छ । उमेरको विकाससँगै मानिसमा देखापर्ने भावना र जिजीविषापूर्ण उत्कण्ठाका पृष्ठभूमिमा जीवनलाई हेर्ने काम यहाँ गरिएको छ । वर्तमानको रोगाग्रस्त र सन्त्रासपूर्ण जीवन भोगाइका उकुसमुकुसपूर्ण बाफिला स्वरहरू पनि केही कवितामा मुखरित भएको पाइन्छ । ‘हल्लाले हल्लाउनेको खेल’ कवितामा वर्तमानको भयाक्रान्त मनोविज्ञानलाई सूक्ष्म रूपमा प्रस्तुत गरिएको छ :

हाम्रो सहरबस्ती र गाउँघरमा

चक्रवातका साथ हुर्रिएका छन् हल्लाहरू

कोरोना कहरको रहमा भुँवरी पेका छन् हुइयाँहरू

बुढेसकालका जीर्ण तनहरू

सकिनसकी कान ठाडा पारेर

बाक्ला न बाक्ला चस्मा मिलाउँदै

छिमेकतिर ठनासिरहेका छन्

कहाँसम्म र कहिलेसम्म

तन्काइरहने होला गह्रौँ मन

कताबाट के आउँछ भनेर । (पृ. ४७)

हिजोको साझा भावना, सामूहिकता र ऐक्यभावमा ह्रास आएकोप्रति कवि संवेदनशील बनेका छन् । मानिसमा पशुमा जत्ति पनि इमान नभएकोमा प्रतीकात्मक रूपमा कटाक्ष गरिएको छ । जननी र जन्मभूमिको महिमाबोधका साथमा आध्यात्मिक तथा सांस्कृतिक आस्थाभाव पनि प्रकट भएरको पाइन्छ । कोरोना भाइरसले निम्त्याएको आतङ्क अनि निमुखाहरूको नियतिलाई मार्मिक रूपमा चित्रण गरिएको छ । जन्मप्रक्रियाको भौतिक अनि जैविक यथार्थको उद्घाटनका साथमा अहिंसाप्रतिको आग्रहका साथमा मानवतावादी चिन्तन पनि यहाँ अभिव्यक्त भएको छ । सङ्गति र अनुकूलताको खोजीमा भौतारिँदा प्रतिकूल परिस्थितिमा बाँच्न विवश जिन्दगीको झलक पनि यहाँ पाउन सकिन्छ । गंगामाया अधिकारीले भोगेको नियतिको प्रस्तुतिका क्रममा मानवीय संवेदना उचाइमा पुगेको पाइन्छ । उनको अवस्थालाई भजाएर धेरै मानिस मालामाल बन्न पुगेको यथार्थलाई यहाँ प्रकाश पारिएको छ :

मान्छेहरू कारोबार गर्दै छन्

उनको छातीमा दोकान खोलेर

ठूला ठूला होर्डिङ बोर्ड झुन्डाएका छन् दायाँ बायाँ

संवेदना रहित विज्ञापनका

नाफा छ कारोबारीहरूलाई

महा कष्ट छ प्राणपखेरुलाई ओत दिइरहन

न्यायको यज्ञकुण्डमा

सङ्घर्षका चरु हवन गरिरहेकी उनलाई । (पृ. ७५)

‘प्रकाश’ शीर्षकको कवितामा जीवनको उज्यालो चाहनाका साथमा स्वतन्त्रताचेत प्रकट भएको छ । मानसिक संवेग र मनको विचित्रमय प्रकृतिलाई दृष्टान्तसहित उजागर गरिएको छ । मानवीय जिजीविषाको सूक्ष्म प्रस्तुतिका साथमा दार्शनिक चेतनाको रुझान पनि कवितामा भेटाउन सकिन्छ । लुगा लगाएर पनि लाज ढाक्न नसकेको वर्तमान मानिसको उदाङ्गो रूपलाई कटाक्षपूर्ण शैलीमा सतहमा ल्याउने काम गरिएको छ । यस सङ्ग्रहका कविताहरूमा हाम्रो वर्तमान अवस्था बोलिएको छ । मानवीय संवेगात्मक अनुभूतिको साक्षात्कार कवितामा गर्न सकिन्छ । कवितामा विविध विषय र भावको संयोजन गएिको छ । यसै गरी देशप्रेम र माटोप्रतिको अनुराग पनि जीवन्त रूपमा प्रस्तुत भएको छ । राष्ट्रप्रतिको नागरिक कर्तव्यका  साथै हाम्रा कला, सम्पदा, र संस्कृतिको संरक्षण चेतना पनि यहाँ पाउन सकिन्छ । ‘माटाको अनुराग’ शीर्षकको कवितामा कविमा निहित माटोप्रतिको ममताका साथै राष्ट्रवादी चेतना मुखरित भएको पाइन्छ :

मसँग जे छ

त्यो तिमीसँग छैन

तर पनि म सधैँ तयार छु तिम्रो लागि

फूल फुलाइरहन ढकमक्क बँगैचाभरि

सौन्दर्य र सुवास छर्न,

चन्द्र सूर्य फहराइरहन सगरमाथाबाट

दुनियालाई चिनाउन

शिर ठाडो पारेर,

शान्तिको सन्देश उद्घोष गरिरहन

संसारभर लुम्बिनीबाट

गौतम बुद्धको धर्ती भन्न । (पृ. ५८)

नीति र आदर्शप्रतिको आग्रह कवितामा सघन रूपमा व्यक्त भएको छ । समयको गति र परिस्थितिजन्य नियतिको दाम्लोमा बाँधिएको मानिसको वास्तविकतालाई यहाँ उजागर गराइएको छ ।

व्यङ्ग्य चेतना र विद्रोही स्वर

कवि ओम आचार्यको प्रस्तुत सङ्ग्रहका कवितामा वर्तमान युग र मानवीय सत्ताप्रतिको व्यङ्ग्य प्रबल बनेर आएको पाइन्छ । बाहिर सभ्य र बज्रुक देखिने मानिस भित्र भित्र खोक्रो बन्दै गएको मर्म कवितामा व्यक्त भएको छ । समसामयिक यथार्थको अभिव्यक्तिका साथमा विद्यमान बेथिति र दुरावस्थाप्रति व्यङ्ग कस्ने क्रममा विद्रोही चेतना पनि सशक्त बन्न गएको पाइन्छ । ‘मेरी कविता’, ‘समय’, ‘छिमेकीको रङ्ग’, ‘आमन्त्रण’, ‘आगो’, ‘सौन्दर्य वध’, ‘शीत, फूल अनि चेली’, ‘हल्लाले हल्लाउनेको खेल’, ‘भन्दै थिए वरपीपल चौतारी’, ‘कठै तिम्रो बुद्धिविलास’, ‘भाइरस आक्रान्त वर्तमान’, ‘पशुबलि’, ‘अहँ देखिन कतै, भेटिन कतै’, ‘गंगा ! माया ! अधिकारी !’, ‘परिदृश्य’, ‘बहुला भएको म’ जस्ता  कविताहरूमा व्यङ्ग्यभाव मिश्रित विद्रोही चेतना सल्बलाएको पाइन्छ । वर्तमानका दम्भपूर्ण मानवीय व्यवहार अनि मानिसमा हराउँदै गएको संवेदनालाई झल्काई समग्र क्षेत्रमा परिष्कारको अपेक्षा राखिएको छ ।  कुकुर, गधा, उल्लू, गोरू आदिलाई हेय दृष्टिले हेर्ने मानिस तिनीहरू जत्तिको पनि इमान्दार र कर्तव्यनिष्ठ हुन नसकेकोप्रति कटाक्षपूर्ण टिप्पणीका साथमा तीव्र विमति प्रकट गरिएको छ ।

‘तँलाई गोरू’ भन्छौ

आँखा तर्छौ/गाली गर्छौ

कामको लय र लगाव

ऊ जस्तै

तिम्रो पनि भैदिएको भए

बेसाहा खोज्न कुनाकाप्चा भौतारिन त पर्थेन,

दुनिया सामु

कमसेकम आज मलाई । (पृ. ५२)

सहरिया जीवनको यथार्थ उद्घाटनका साथमा घरहरू नजिक रहे पनि मनहरू टाढा रहेको सत्यलाई प्रकाश पारिएको छ । सभ्यताका नाममा हर्किएको आडम्बरपूर्ण व्यवहार अनि दुर्गन्धित बन्दै गएको सहरिया वातावरणप्रति सघन व्यङ्ग्य गरिएको छ ।

न मलामी जानुपर्छ

न जन्ती नै

न ऐचो पैँचो

न मीठो चोखो

न वास्ना न गन्ध

यन्त्रवत् चलेको छ

आँखा आक्कल झुक्कल जुधे पनि

मन टाढै रहने

सभ्य सहरभित्रको छिमेक ।  (पृ. २९)

सङ्ग्रहको अन्तिम क्रममा रहेको ‘बहुला भएको म’ कवितामा आफ्नो औकात भुलेर आफ्नै आमालाई बिर्सने स्वार्थी सन्तानप्रति सशक्त रूपमा प्रहार गरिएको छ । मानवीयपन र पहिचान गुमाएको आजको मानिसको वास्तविकतालाई यहाँ व्यक्त गरिएको छ । मानवीय छुद्र प्रवृत्तिलाई व्याजस्तुतिमय शैलीमा यसरी कटाक्ष गरिएको छ :

अनि आफैलाई बिर्सेको छु्

आफ्नैलाई बिर्सेको छु

पुर्खाको पौरख बिर्सेको छु

तिनको गौरव बिर्सेको छु

परचक्रीको धुनमा

मरमसला नुनमा

भक्तिभाव गुनमा

नाचेर, खाएर, गाएर

जोस सेलाएको छु

होस सेलाएको छु

लुगा लगाए पनि

लाज ह्वाङ्गै राखेको छु । (पृ. ९४)

समग्रमा हेर्दा यिनका धेरैजसो कविताहरूमा प्रच्छन्न रूपमा व्यङ्ग्य चेतना प्रस्तुत भएको छ । केही कवितामा मानवीय छद्म व्यवहार र विकृत बन्दै गएको सभ्यताप्रति प्रश्न उठाई त्यस्ता प्रवृत्तिप्रति तीव्र असन्तुष्टि र असहमति प्रकट गर्नुले यहाँ विद्रोही स्वर पनि सशक्त बन्न गएको पाइन्छ । मानवीय धरातल छामेर वास्तविकतामा बाँच्न आग्रह गरिएको छ । कवितामा ठाडो रूपमा नाराबाजी नभई शिष्ट रूपमा विकृतिलाई नाङ्गेझार पारिएको छ ।

शीर्षकीय विन्यास

प्रस्तुत सङ्ग्रहको नामकरण सङ्ग्रहभित्रका तेत्तिस कवितामध्ये एउटा कवितालाई छनोट गरी कृतिको शीर्षक चयन गरिएको छ । छैठौँ क्रममा रहेको ‘फूलको हार्दिकता’ शीर्षक कवितासङ्ग्रहकै शीर्षक बन्न गएको छ । समग्र कविताको मर्मलाई हेर्दा हार्दिकताको पक्ष सघन रूपमा आएको पाइन्छ । कवि ओम आचार्यको संवेगात्मक हार्दिकताको अभिव्यक्तिसँगै सङ्ग्रहभित्रका तेत्तिसवटा कविताको रचना भएको पाइन्छ । यस हिसाबले पनि शीर्षकीय विन्यास उपयुक्त देखिन्छ । कवि आचायभित्र स्वदेश प्रेम, राष्ट्रिय अस्मिताबोध, जीवनको मूल्यबोध पाइनुका साथै जनजीवनप्रतिको दायित्वबोध हार्दिक रूपमा अभिव्यक्त भएको पाइन्छ । ‘फूलको हमर्दिकता’ नामक कविताका साथै सबैजसो कवितामा मनको हार्दिकता, तनको हार्दिकता, जीवनको हार्दिकताका साथै अभिव्यक्तिगत हार्दिकता पाइनुले कृतिकै शीर्षक उपयुक्त र सार्थक बन्न गएको देखिन्छ ।

शैलीशिल्प

कवि ओम आचार्यका कविताहरू गद्यलयमा निर्मित छन् । अनुभूतिलाई कवित्वमय शैलीमा प्रस्तुत गर्दा बिम्ब, प्रतीक र सङ्केतहरूको प्रयोग सान्दर्भिक रूपमा भएको पाइन्छ । ठाउँ ठाउँमा अनुप्रास विन्यासले कवित्वको पाटो सशक्त बन्न गएको छ । अन्तर्साङ्गीतिक लयचेतनाका साथमा गति, यति र आरोह–अवरोहको संयोजन पनि भएको पाइन्छ । प्रकृतिको मानवीकरणका साथै प्रकृति र मानव जीवनको तादात्म्य सम्बन्धलाई कवितामा संयोजन गरिएको छ । प्रथम पुरुष, द्वितीय पुरुष तथा तृतीय पुरुष दृष्टिबिन्दुको स्वाभाविक प्रयोगका साथमा व्यक्ति तथा समाजमा मक्किएर रहेका विकृतिजन्य पक्षलाई व्याजस्तुतिमय शैलीमा प्रस्तुत गर्ने कला विशिष्ट रहेको पाइन्छ । तत्सम तथा तद्भवकेन्द्री शब्दहरूको प्रयोगका साथमा सन्दर्भअनुकूल आगन्तुक शब्दको प्रयोग पनि भएको पाइन्छ । कतै कतै उखान तथा टुक्काको स्वाभाविक प्रयोग पनि भेट्न सकिन्छ । उनुप्रासप्रतिको मोह यस्तो रहेको छ :

मैले उनलाई

गीतको गानमा खोजेँ

सङ्गीतको तानमा खोजेँ

पmूलको परागमा खोजेँ

कुलको अनुरागमा खोजेँ

स्वजनको ओठमा खोजेँ

निमुखाको चोटमा खोजेँ

खै पटक्कै  देखिन  (पृ. ६९)

विचारमा सूक्ष्म चिन्तन अनि प्रस्तुतिमा व्यङ्ग्यात्मक अभिव्यञ्जनका साथमा जीवनको सौन्दर्यलाई झल्काउने क्रममा सरल र स्वाभाविक प्रकृतिको अभिव्यक्ति कला पाइन्छ । मानसिक बिम्बलाई कवित्वमय शैलीमा प्रस्तुत गर्ने शैली रोचक र प्रभावकारी रहेको पाइन्छ । कविता पढ्दै जाँदा वर्णविन्यासगत त्रुटिले पाठकलाई झस्काउनुलाई यसको सीमा मानिन्छ । बिम्ब, प्रतीक र अलङ्कारको स्वाभाविक प्रयोगले कविता दुर्बोध्य नभई सरल र सरस बनेको पाइन्छ ।

निष्कर्ष

कवि ओम आचार्यका कवितामा मानवीय संवेदना प्रबल रूपमा मुखरित भएको पाइन्छ । फुटकर कविताको आयाममा संरचित तेत्तिसवटा कवितामा समकालीन जीवनको यथार्थ अवस्था, प्रकृतिको चित्रणका साथमा मानवीय संवेदना सजीव रूपमा व्यक्त भएको पाइन्छ । समाजमा विकास भएका व्यक्तिस्वार्थ, अकर्मण्यताका साथै खस्किँदो मानवीय मूल्यप्रति कटाक्ष गरिएको छ । समाजका विकृति र विसङ्गतिहरू देखेर वाक्क बनेका कविभित्र विद्रोही चेतना पनि सल्बलाउन पुगेको पाइन्छ । समाजका गरिब र निमुखाप्रतिको सहानुभूति पनि कवितामा पाउन सकिन्छ । विषयवस्तुको उठानसँगै सामाजिक यथार्थलाई झल्काउने क्रममा व्याजस्तुतिमय शैलीको प्रयोग पनि जीवन्त बनेर आएको पाइन्छ । कविताद्वारा समग्र विकृतिको सुधारका साथमा मानवीय विचार र व्यवहारमा परिष्कारको अपेक्षा गरिएको छ । आचार्यका कवितामा सूक्ष्म चिन्तनका साथै मानवीय संवेदना मूर्त रूपमा अभिव्यक्त भएको पाइन्छ । सत्यप्रतिको निष्ठाका साथै नैतिक मूल्यको संरक्षणमा कविता केन्द्रित रहेको पाइन्छ । अतीतबोधका साथमा जीवनको गति र नियतिलाई कवितामा झल्काइएको छ । बदलिएको वर्तमान परिवेशमा हुर्किएका विसङ्गतिहरूप्रति कटाक्ष गरी मानवीय व्यवहारमा सुधार र परिष्कारको आग्रह यहाँ पाइन्छ । कृति पठनीय र सङ्ग्रहणीय रहेको छ । यस्तो सुकर्मका लागि कवि ओम आचार्यलाई हार्दिक बधाईका साथै निरन्तर साधनाको शुभकामना ।

Previous Post Next Post