श्री बराह आधारभूत विद्यालयका विद्यार्थीहरुलाई नगद तथा स्टेशनरी सामग्री सहयोग

अर्घाखाँची, मालारानी । मालारानी गाउँपालिका वडा नं. ७ बामरुकमा रहेको श्री वराह आधारभूत विद्यालयका विद्यार्थीहरुलाई नगद तथा स्टेशनरी सामग्री सहयोग गरिएको छ ।

करिब तीन दशकदेखि जर्मनीमा सपरिवार बसोबास गर्दै आउनुभएका राजेन्द्र प्रसाद भुसालले अफ्नो जन्मस्थान मालारानी गाउँपालिका बामरुकमा रहेको सो विद्यालयका विद्यार्थीहरुलाई नगद तथा स्टेशनरी सामग्री सहयोग गर्नुभएको हो ।

दाजु स्वर्गीय रामप्रसाद भुसालको नामबाट विद्यालयमा अक्षकोष खोल्नुभएको राजेन्द्रले विद्यालयमा अध्यनरत गरिब तथा जेहेन्दार १४ जना विद्यार्थीहरुलाई जनही एक हजार रुपियाँ नगद र विद्यालयका सम्पूर्ण विद्यार्थीहरुलाइ एक कापी र एक पेन हस्तान्तरण गर्नुभएको हो ।

दाजुको सम्झनालाई ताजा बनाइराख्न खोलिएको अक्षकोषबाट भविष्यका कर्णाधार विद्यार्थी भाइबहिनीहरुको उज्जवल भविष्यका लागि थोरै भएपनि योगदान पुग्ने अपेक्षा लिएको अक्षकोषदाता  राजेन्द्रले बताउनुभयो ।

आगामी दिनमा पनि यस्तो सहयोगलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गर्दै उहाँले जेहेन्दार विद्यार्थीहरुलाई थोरै भएपनि सहयोग गर्न पाएकोमा खुशी व्यक्त गर्नुभयो ।

विद्यालयका प्रधानाध्यापक डिल्लीराज मरासिनीले सहयोगप्रति आभार प्रकट गर्दै यस्तो सहयोग सबैका लागि अनुकरणीय भएको बताउनुभयो ।

कार्यक्रममा मालारानी गाउँपालिका वडा नं. ७ का वडाध्यक्ष खड्क प्रसाद भुसाल, कोष सञ्चालक समितिका संयोजक मोहनचन्द्र भुसाल, विद्यालयका शिक्षक, विद्यार्थी तथा कर्मचारीका साथै अभिभावकहरुको उपस्थिति रहेको थियो ।








Previous Post Next Post