सम्पदास्थल तथा धार्मिकस्थलहरुको सरसफाई अभियानमा ताम्रकार समाज

ललितपुर । दिया ताम्रकारको दिनचर्या हिजो आज फेरीएको छ । ताम्रकार समाजमा कार्यालय सहायक पदमा कार्यरत उहाँ अहिले व्यस्त हुनुहुन्छ । ताम्रकार समाजको आयोजनामा प्रत्येक महिनाको पहिलो शनिबार भइरहेको सम्पदा सरसफाई कार्यक्रमको लागि उहाँ लागिपर्नुभएको छ । कार्यक्रम सफल बनाउनका लागि सहभागी हुन आउन सूचना जारी गर्ने, फोन गर्ने, सरसफाइको सामाग्रीहरुको जोरदाम गर्ने, मास्क, पञ्जाको व्यवस्था गर्ने देखि सहभागीहरुको लागि खाजाको व्यवस्था गर्नसमेत उहाँ लागिपर्नुभएको हुन्छ । यस बाहेक कार्यालयका नियमित कार्यहरु त गर्नु छँदैछ ।

ताम्रकार समाजले महिनामा एकदिन उपत्यकाका विभिन्न सम्पदाहरु तथा धार्मिकस्थलहरुको सरसफाई कार्यक्रम अन्तरगत मङ्सिर महिनामा पाटनको मच्छिन्द्रबहाल परिसर, पुस महिनामा मीननाथ बहाल परिसर, माघ महिनामा महालक्ष्मीस्थान परिसर तथा फागुन महिनामा लगनखेलस्थित बटुक भैरवनाथस्थल तथा अशोक स्तुपा परिसरको सरसफाई सम्पन्न गरिसकेको छ । प्रत्येक पटकको सरसफाईमा समाजका ५० देखि ६० जवान सदस्यहरुको सहभागिता रहने गरेको छ । समाजको जिम्मेवारीको दायित्व बढाउनको लागि पनि विभिन्न सम्पदास्थलहरुमा गएर सरसफाई कार्य गर्न गइरहेको ताम्रकार समाजका अध्यक्ष बिनोद ताम्रकारले बताउनुभयो । ताम्रकार समाज आफ्नो समुदायमा मात्रै सिमित नरहेको तथा सदस्यहरुलाई पनि सम्पदास्थलहरुको महत्व एवं आवश्यकताको वोध गराउन समेत यो कार्यक्रम सफल हुनेमा उहाँले विश्वास व्यक्त गर्नुभयो ।

समाजले नियमित रुपमा गर्दै आइरहेको कार्यभन्दा अलिक भिन्न शैलीको कार्यक्रमको थालनी गरेको समाजका महासचिव दिपेश ताम्रकार बताउनुहुन्छ । उहाँले समाजले गरेको यस प्रकारका कार्यक्रममा सदस्यहरुको उत्साहप्रद सहभागीताले आफुहरु हौसिएको र कम्तीमा पनि एक वर्षसम्म कार्यक्रमलाई निरन्तरता दिने उहाँले बताउनुभयो । समाजको सो कार्यक्रममा सुरुदेखि नै नियमित रुपमा सहभागिता जनाउँदै आइरहनु भएका समाजका निवर्तमान अध्यक्ष रविन्द्रराज ताम्रकारले समाजबाट कला, संस्कृति, सम्पदा, भाषाको संरक्षण सम्वद्र्धनमा विगत लामो समयदेखि कार्य गर्दै आइरहेको बताउनुभयो । उहाँले यस प्रकारको कार्यहरुलाई समाजका सदस्यहरु तथा गैरसदस्यहरुले समेत सकारात्मक रुपमा लिने बताउँदै समाजको छवि उच्च बनाउन यसले सहयोग पुग्ने उल्लेख गर्नुभयो । आगामी समयमा उपत्यकाका विभिन्न सम्पदाहरुमा समेत यो कार्यक्रम लिएर जाने समाजको योजना रहेको छ । जुन सम्पदास्थलको सरसफाई गर्ने हो त्यस स्थल वरपरका संघ संस्थाहरुलाई समेत यस कार्यमा संलग्न गर्दै आइरहेको छ ।

Previous Post Next Post