वैदिक स्कुलको नवौं अभिभावक दिवस

काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिका–२ बालकोटमा अवस्थित वैदिक स्कुलको नवौं अभिभावक दिवस सम्पन्न भएको छ । कोरोना संक्रमणका कारण रोकिएको दुई वर्षको अभिभावक दिवस एकसाथ मनाइएको थियो ।

अभिभावक दिवसका अवसरमा नसर्रीदेखि कक्षा १० सम्मका विद्यार्थीले नृत्य, लघुनाटक, गीत, संगीत, तेक्वान्डो डेमोस्ट्रेसनमार्फत् आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए । साथै शिक्षक शिक्षिका समेतले गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।

उक्त अवसरमा दुई वर्षको अवधिमा विद्यालयका अतिरिक्ति क्रियाकलापलगायतका विभिन्न गतिविधिमा विजयी विद्यार्थीलाई सूर्यविनायक नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष प्रदीप कार्की, विद्यालयका प्रधानाध्यापक बालकुमार खत्री, सञ्चालक समितिका अध्यक्ष जनार्दन अधिकारी, सञ्चालक आरके राउतलगायतले पदक तथा प्रमाणपत्र प्रस्तुत गर्नुभएको थियो ।

अभिभावक दिवसलाई सम्बोधन गर्दै प्रधानाध्यापक खत्रीले विद्यालयमा सैद्धान्तिक ज्ञानका साथै व्यवाहरिक सीपलाई पनि जोड दिइएको जानकारी दिनुभयो । उहाँले ‘प्राक्टिकल बेस लनिङ’ (पीबीएल) विधिबाट विद्यालयमा पढाउने गरेको उल्लेख गर्दै आफूहरुले विद्यार्थीले प्राप्त गरेको अंकलाई मात्र होइन उनीहरुले प्राप्त गरेको ज्ञानलाई पनि महत्व दिँदै आएको बताउनुभयो ।

त्यस्तै वडा अध्यक्ष कार्कीले सूर्यविनायक नगरपालिकाले संस्थागत विद्यालयहरूको अनुगमन तथा समन्वयमा जोड दिएको जानकारी दिँदै विदेशमा विद्यार्थी पलायन हुने परिपाटीलाई रोक्न अभिभावक स्वयम् जागरुक हुनुपर्ने बताउनुभयो । कार्यक्रममा पूर्वविद्यार्थी तथा विद्यार्थीका जेष्ठ अभिभावकहरूलाई पनि सम्मान गरिएको थियो ।

Previous Post Next Post