स्कुलबाट पोखरा र चितवन पाँच दिन शैक्षिक भ्रमणमा जाँदाको मेरो रमाइलो यात्रा

अनामिका जोशी

जीवन एउटा यात्रा हो । जीवनयात्रामा थुप्रै उकाली र ओरालीहरू आउँछन्, अनगिन्ती भञ्ज्याङ र चौतारीहरू आउँछन् अनि आउँछन् ठूला–ठूला जँघार, खोला र नालाहरू पनि । जीवन भोगाइका क्रममा मानिसले अनेकौँ यात्राहरू गर्नुपर्ने हुँदो रहेछ, कुनै रहर त कुनै कहरले, कुनै मनोरञ्जन त कुनै व्यापारिक अभिलाषाले ।

जीवनमा धेरै यात्रा वा भ्रमण गरिन्छ तर ती सबै सम्झन लायक हुँदैनन् । यही माघ २ देखि ६ गतेसम्म मेरो विद्यालय मेरिडियन इन्टरनेसनल स्कुलले नेपालको रमणीय स्थल पोखरा र चितवनको शैक्षिक भ्रमणको आयोजना गरेको थियो । विद्यालयद्वारा आयोजित यो शैक्षिक भ्रमण नै मेरो आजसम्मको सबैभन्दा रमाइलो यात्रा हुन पुग्यो ।

यात्रा वा भ्रमण भनेको विभिन्न ठाउँहरूको अवलोकन भ्रमण गर्दै इन्द्रियजन्य ज्ञान प्राप्त गर्नु हो । हामी सबै साथीहरू र गुरुहरू १११ जनाको टोली, विद्यालयका एसईई संयोजक दीपक थपलिया गुरुको नेतृत्वमा भ्रमणमा निस्किएका थियौँ । बिहान ६.३० बजे नै विद्यालयमा जम्मा भएर हामीहरू पृथ्वी राजमार्ग हुँदै मलेखुमा खाना खाएर त्रिशूली नदीको किनारमा तस्वीर खिचाएर अगाडि बढ्यौँ ।

पृथ्वी राजमार्ग वरपरको खेतबारी, वन, पहाड, नदी र रमणीय प्राकृतिक दृश्यहरूलाई नियाल्दै घाँसी कुवामा भानुले प्रेरणा पाएको ठाउँ हेरी हामी वेगनास पुग्यौँ । ताल ठूलो र सफा रहेछ । साँच्चै पोखरा त प्रकृतिको रमणीय स्थल नै लाग्यो । त्यस दिन बेलुका फेवातालको किनारी बजार घुमफिर गर्दै होटलको सभाहलमा मनोरञ्जनात्मक कार्यक्रम गरी होटलमा विश्राम लियौँ ।

दोस्रो दिन हाम्रो योजनाअनुसार बिहान चाँडै नै पुम्दीकोट शिवालय र बौद्धशान्ति स्तुपा हेर्नको लागि एक घण्टा ३० मिनेटको बाटो उकालो चढेपछि शिखरमा पुग्यौँ । त्यहाँबाट पोखराको दृश्य हेर्दा धेरै नै मनमोहक लाग्यो । माछापुच्छे र अन्नपूर्ण हिमालको काख प्रकृतिको मनोरम नगरी पोखरा ज्यादै सुन्दर लाग्यो । कतै लुकेकी कतै देखिएकी सेती नदी, चिप्लेढुङ्गा, महेन्द्रपुल बजार, विभिन्न तालहरू र त्यहाँबाट हेर्दाको दृश्य बिर्सिनसक्नु लाग्यो । हामीले त्यसै दिन बिन्ध्यवासिनी,  गुप्तेश्वर गुफा, पाताले छाँगो (डेविज फल्स), महेन्द्र गुफा, चमेरे गुफा आदिको अवलोकन भ्रमण ग-यौँ ।

तेस्रो दिन पोखराबाट हामी चितवन, सौराहातिर रमाइलो गर्दै तीनओटा पर्यटक बसमा सुन्तला खाँदै गयौँ । त्यही दिन खाना खाएर थारु गाउँ र सङ्ग्रहालयको अवलोकन गर्दै सूर्यास्तका दृश्यहरू क्यामरामा कैद ग¥यौँ । बेलुका होटलमा थारु नाच र संस्कृतिमा रम्यौँ र रमायौँ । चौथो दिन जङ्गल सफारीअन्तर्गत जिप चढेर जङ्गल घुम्दा गैँडा, बँदेल, जरायो, हरिण, मयूर आदि जस्ता जीवजनावर हे-यौँ । त्यतिबेला दश वटा जिपमा सम्पूर्ण मेरिडियन परिवार जङ्गल घुम्दा साह्रै रमाइलो लाग्यो । त्यस दिन दिउँसो हामीले हात्ती प्रजनन केन्द्र र वन्यजन्तु आखेटोपहार सङ्ग्रहालयको पनि दृश्य अवलोकन गरी जानकारी लियौँ । बेलुका सौराहा बजार घुम्दै किनमेल गरी खाजा खाएर फर्कियौँ । अन्तिम अर्थात् पाँचौ दिन हामी नुहाइधुवाइ गरी बिहान ८ बजेतिर नास्ता खाएर काठमाडौँको लागि प्रस्थान ग-यौँ र बाटोमा रमाइलो गर्दै बेलुका चार बजेमात्र बालुवाटार, काठमाडौँस्थित विद्यालयमा आइपुग्यौँ अनि आ–आफ्ना घर प्रस्थान ग-यौँ । यस भ्रमणले मेरा साथीहरूबीचको सामीप्यता र घनिष्ठता ज्यादै बढायो । विद्यालयमा कडा अनुशासनमा प्रस्तुत हुने गुरुहरूले भ्रमणमा देखाउनुभएको उदार व्यवहारले हामीलाई झन् खुशी बनायो ।

निष्कर्षमा यो यात्रा निकै रोमाञ्चक र अविस्मरणीय रह्यो । भ्रमण अवधिको पाँच दिन हामीलाई एकैछिनमा गएको जस्तो लाग्यो । म फर्किँदै गर्दा मनभित्र अनेक भावहरू उथलपुथल गरिरहे । एउटा कुरा के लाग्यो भने मैले पोखरा र सौराहाको बारेमा जे सुनेकी थिएँ, जे पढेकी थिएँ, त्यसभन्दा दसौँ गुना सुन्दर रहेछ । सौन्दर्य भन्ने कुरो वर्णनातीत भएरै होला – पोखरा, सौराहाको रमणीयतालाई उपयुक्त शब्दमा बाँध्न नसकिएको । यी ठाउँहरूलाई पढेर होइन, सुनेर होइन, हेरेर र भोगेर आनन्द लिनुपर्दो रहेछ । हो, सौन्दर्य भन्ने कुराले आँखाको बाटो हुँदै गएर हृदयलाई छुँदो रहेछ । त्यसरी छोइएको सुन्दरताले नै मान्छेलाई अभिभूत बनाउँदो रहेछ, लठ्याउँदो रहेछ । झन् हामी नयाँ कुराको अध्ययनमा रुचि राख्ने विद्यार्थीका लागि यस्तो शैक्षिक भ्रमण अति नै प्रभावकारी हुन्छ । हामीले रमाइलोसँगै धेरै कुराहरू सिक्ने मौका पाउँछौँ । अहिलेसम्मको मेरो जीवनको सबैभन्दा रमाइलो यात्रा बनेको ती भ्रमणका क्षणहरू सम्झँदा अहिले पनि मनमा ज्यादै आनन्द लाग्छ ।



(अनामिका जोशी बालुवाटारस्थित मेरिडियन इन्टरनेसनल स्कुलमा कक्षा १० मा अध्ययनरत हुनुहुन्छ ।)

Previous Post Next Post