विज्ञान र प्रविधिको विकाससँगै होमियोप्याथीक पद्घतिको पनि संरक्षण गर्नुपर्ने आवश्यकता

ललितपुर । २६८ औं विश्व होमियोप्याथीक दिवस विविध कार्यक्रम गरी मनाइएको छ । सरकारी स्वामित्वको पशुपति होमियोप्याथीक चिकित्सालयले सोमबार हरिहरभवनस्थित कार्यालयमा आयोजना गरेको समारोहमा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दिपेन्द्र रमण सिंहले विभिन्न स्वास्थ्य उपचार पद्घतिको आ–आफ्नै महत्व र विशेषता रहेको बताउनुभयो । पछिल्लो समय विज्ञान र प्रविधिको विकाससँगै यस्तो पद्घतिको पनि संरक्षण गर्नुपर्ने आवश्यकता उहाँले औंल्याउनुभयो ।

चिकित्सालयका प्रमुख डा. प्रेमनारायण श्रीवास्तवले होमियोप्याथीक चिकित्सामा आकस्मिक सेवा भन्दा दीर्घ रोगको उपचार हुने गरेको बताउनुभयो । प्रभावकारी उचारका कारण हरेक वर्ष होमियोप्याथीक उपचार गर्ने बिरामीको संख्या उल्लेख्य रुपमा बढेको जानकारी दिनुभयो ।

होमियोप्याथीक प्राकृतिक सिद्घान्तमा आधारीत एक प्रकारको चिकित्सा प्रणाली भएको भन्दै उहाँले यसमा विभिन्न स्रोतहरु जस्तै वनस्पति, जैविक, खनिजलगायतका वस्तुलाई एक विशेष पद्घतिद्घारा शक्तिकृत गरी सुक्ष्म मात्रामा विरामीलाई लक्षणका आधारमा सेवन गराई उपचार गरिने बताउनुभयो ।

कार्यक्रममा नरदेवी आयुर्वेद चिकित्सालयका निर्देशक डा. प्रदिप केसी, वैकल्पििक चिकित्सा विभागका डा. श्यामबाबु यादव, होमियाप्याथिक चिकित्सक डा. रामकुमार अधिकारी र डा. रामकुमार अधिकारीलगायतले होमियोप्याथिक उपचार पद्धतिको अवस्था र महत्वका बारेमा बोल्नुभएको थियो ।




Previous Post Next Post