बालकमाथि हुने यौन हिंसा विरूद्ध नीतिगत व्यवस्था गर्नुपर्नेमा सरोकारवालाहरुको जोड

ललितपुर । बालकमाथि हुने यौन हिंसा विरूद्ध नीतिगत व्यवस्था गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।

भ्वाईस अफ चिल्ड्रेनले बालकमाथि हुने यौन दुव्र्यवहार विरूद्धको “निलो छाता दिवस” को अवसरमा ललितपुरमा आयोजना गरेको कार्यक्रममा सहभागीहरुले  बालकमाथि हुने यौन हिंसा विरूद्ध कानुनी व्यवस्था नै स्पष्ट नभएको भन्दै नीतिगत व्यवस्था हुनुपर्ने बताएका हुन् ।

फ्यामिली फर इभरी चाइल्ड संस्थाले विश्वका ४६ राष्ट्रमा बालबालिकाको हितका लागि काम गर्दै आएका सङ्घ संस्थासँग सहकार्य गर्दै सन् २०२१ देखि अप्रिल निलो छाता दिवस मनाउँदै आएको छ ।

बालकहरुलाई पनि यौन दुर्व्यवहार हुन्छ र उनीहरुलाई पनि सुरक्षा चाहिन्छ, यौन दुव्र्यवहारले बालकहरुलाई पनि बालिकालाई जस्तै शारीरिक, बौद्धिक तथा मानसिक रूपमा असर गर्दछ भन्ने सन्देश तथा सचेतनाका अभियना चलाउन यस दिवस मनाउँदै आएकोे छ ।

भ्वाईस अफ चिल्ड्रेनका उपनिर्देशक राजु घिमिरेले सो संस्थाले सडक बालबालिका, बालकमाथि हुने यौनदुव्र्यवहार तथा अन्य जोखिमपूर्ण अवस्थामा रहेका बालबालिकाको उद्धार/संरक्षण र पारिवारिक र सामाजिक पुनर्मिलनका लागि सहयोग गर्दै आएको बताउनुभयो ।

उहाँले बालकमाथि भएका यौन दुव्र्यवहार सम्वन्धी कार्यपत्र प्रस्तुत गर्दै नेपाल प्रहरी, महिला बालबालिका ज्येष्ठ नागरिक सेवा निर्देशनालयको वार्षिक तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७७/७८ मा ९० जना र आर्थिक वर्ष २०७८ ÷ ७९ मा ९३ जना बालकहरु यौन हिंसाबाट प्रभावित भएको बताउनुभयो ।

फ्यामिली फर इभरी चाइल्ड बेलायतले नेपालका बालकमाथि हुने हिंसा सम्बन्धमा २०१९ मा चारसय बाउन्न बालबालिकाको बीच गरिएको अध्ययनमा ८० प्रतिशतले इन्टरनेट प्रयोग गर्ने गरेको र ४७ प्रतिशत बालकहरु यौन दुव्र्यवहारमा पर्ने गरेको देखिएको छ ।

उपनिर्देशक घिमिरेले उक्त तथ्याङ्क प्रहरीमा उजुरी भएका बालकहरूको मात्र सङ्ख्या हो भन्दै समाजमा परिवारको प्रतिष्ठाको कारण र बालकमाथि हुने यौन हिंसालाई सामान्य ठान्ने प्रवृत्तिका कारण ज्यादै कमले मात्र उजुरी गर्ने हिम्मत गर्ने बताउनुभयो ।

उहाँले नेपालमा पशु करणी विरूद्ध कानुनी व्यवस्था छ तर बालक पनि यौन हिंसामा पर्छन् भन्ने कुराको हेक्का नराखी कानुनी उपचारका लागि कुनै प्रावधान नभएकोले  समाजमा हुने तर नदेखिने बालक विरूद्धको यौन हिंसा विरूद्ध कानुनी व्यवस्था गर्न सञ्चारमाध्यम तथा सरोकारवाला संस्था, नागरिक समाजले सकारात्मक दबाब सिर्जना गर्न आग्रह गर्नुभयो ।

कार्यपत्रमा शक्ति, नाता सम्बन्ध र विश्वासको दुरुपयोग गरी वयष्क, शक्तिशाली व्यक्तिले साना बालबालिकालाई यौन आशय झल्किने गरी गरिने बालबालिकाको यौनाङ्ग छोएर वा छुन लगाएर,बालबालिकालाई असहज हुने गरी सुम्सुम्याउनुलाई  बाल यौन दुव्र्यव्यवहार मानिन्छ ।

त्यसैगरी यौन दुव्र्यवहार बलात्कार गर्नु,अश्लील तस्विर तथा भिडियो देखाउनु,यौनजन्य मेसेज,इमेल वा अन्य मार्फत यौनजन्य फोटोहरु पठाउनु,गोप्य अङ्ग हेर्नु वा हेर्न लगाउनु पनि बाल यौन दुव्र्यवहार भएको कार्यपत्रमा उल्लेख छ ।

भ्वाइस अफ चिल्ड्रेनका कार्यक्रम व्यवस्थापक रोजिना कार्कीले प्रविधीको दुरूपयोग गरी  सामाजिक सज्जालहरु– फेसबुक, म्यासेन्जर, टिकटक, युट्युब, भाइबर, ट्वीटर, ह्वाट्सएप, ईमो, इन्स्टाग्राम, नेटफ्लीक्सको माध्यमबाट बालबालिका बाल यौन दुव्र्यवहारमा परिरहेको बताउनुभयो ।

उहाँले प्रविधीको माध्यम हुने हिंसाले बालबालिकाको शारीरिक, मानसिक, शैक्षिक, नैतिक, सामाजिक विकासमा नकारात्मक असर पर्ने क्रियाकलापहरु अनलाईनबाट हुने गरेकोले यस विरूद्ध दिवस नै घोषणा गर्दै बालबालिकालाई सुरक्षित राख्न सचेतनाका अभियान सञ्चालन गर्नुपर्नेमा जोड  दिइएको छ ।





Previous Post Next Post