सडक सुरक्षासम्बन्धी कार्टुन प्रदर्शनी शुरु : असुरक्षित तबरले सडकमा सवारी चलाउने प्रवृत्तिका विरुद्ध सन्देश प्रवाह

काठमाडौं । संयुक्त राष्ट्र संघ विश्व सडक सुरक्षा सप्ताहको अवसरमा सडक सुरक्षासम्बन्धी सचेतना जगाउन बबरमहलस्थित नेपाल आर्ट काउन्सिलको ग्यालरीमा बुधबारदेखि ‘सडक यात्रा’ शीर्षकमा कार्टुन प्रदर्शनी शुरु भएको छ ।

राष्ट्रिय सडक सुरक्षा परिषद्को आयोजना र नेपाल कार्टुनिस्ट क्लब अफ नेपालको सहकार्यमा गरिएको कार्टुन प्रदर्शनीकोे भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले उद्घाटन गर्नुभयो । नेपालका वरिष्ठदेखि कनिष्ठ कार्टुनिष्टहरुद्वारा बनाइएका ३० वटा कार्टुनहरु प्रदर्शनीमा रहेका छन् । कार्टुनहरुमा विशेषतः असुरक्षित तबरले सडकमा सवारी चलाउने प्रवृत्तिका विरुद्ध सन्देश प्रवाह गरिएको छ । हेलमेट नलगाइकन मोटरसाइकल चलाउने, तीब्र गतिमा सवारी हाँक्ने, सडक लेन मिच्ने, गाडी चलाउँदा मादक पदार्थ सेवन गर्ने, लागू पदार्थ खाने, मोबाइल फोन चलाउने, क्षमताभन्दा बढी यात्रु बोक्नेलगायतका प्रवृत्तिले सडकमा दुर्घटना हुने गरेको कार्टुनहरुमा औंल्याइएका छन् । यस्तै, अपाङ्गगता भएका, वृद्धवृद्धा, बालबालिका तथा अशक्तहरुका लागि सडकमा विशेष ख्याल पुर्याउनुपर्ने सन्देश पनि कार्टुनमार्फत् दिइएको छ । ट्राफिक नियमको पालना गर्नुपर्ने, सडक इञ्जिनियरिङ वैज्ञानिक हुनुपर्नेतर्फ सवारी चालक, यात्रु, बटुवा तथा सर्वसाधारण सबैमा कार्टुनहरुले सचेत गराएका छन् ।

कार्टुन प्रदर्शनीको उद्घाटन शत्रमा बोल्दै राष्ट्रिय सडक सुरक्षा परिषद्का अध्यक्षसमेत रहेका भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले प्रदर्शित कार्टुनहरुले सार्वजनिक यातायाता र मोटरसाइकल चालकलाई बढी सचेतना दिन सक्ने बताउनुभयो । ‘किनकी, सार्वजनिक यातायात चलाउनेहरु प्रायःले स्कूल शिक्षा लिएका र मोटरसाइकल चालकहरु १२ कक्षा सकेकाहरु नै हुन्छन्,’ उहाँले भन्नुभयो, ‘त्यसैले त्यो उमेर समूहले नै कार्टुनलाई बढी रुचाउने हुँदा सडक सुरक्षासम्बन्धी सचेतनाका निम्ति यो माध्यम निकै प्रभावकारी छ ।’ सचिव शर्माले सडकमा ‘एक्सिडेन्ट’ चिताउँदै नचिताउँदा पनि हुने तर ‘क्य्रास’ भने रोक्न सकिने धारणा राख्नुभयो ।

विश्व स्वास्थ्य संगठनका प्रतिनिधि डा. ग्याम्पोले सडकमा हुने दुर्घटनाबाट विश्वमा मानवीय क्षतिको मात्रा बढिरहेकाले सचेतना अति नै आवश्यक रहेको बताउनुभयो । उहाँले खासगरी युवा वर्गकै बढी क्षति भइरहेको सुनाउनुभयो । यस्तो अवस्थामा सडक सुरक्षासम्बन्धी कार्टुन निकै प्रभावकारी र नवीनतम् भएको पनि उहाँको भनाइ थियो ।

राष्ट्रिय सडक सुरक्षा परिषद्ले दिएको हालैको तथ्याङ्कअनुसार विश्वभर करिव १३ लाख ५० हजार मानिसले प्रतिवर्ष सवारी दुर्टटनाका कारण ज्यान गुमाएका छन् । नेपालमा हरेक वर्ष करिव दुई हजार आठ सय मानिसको सवारी दुर्घटनाबाट मृत्यु हुने गरेको छ ।

कार्टुनिस्ट क्लब अफ नेपालका अध्यक्ष वासु क्षितिजले सडक सुरक्षा सबैको जीवनसँग जोडिएकाले ट्राफिक प्रहरीले गरिरहेको काम जस्तै कार्टुनिस्टहरुले पनि सचेतना जगाउन सरकार र नागरिकसँग हातेमालो गर्ने बताउनुभयो ।

कार्यक्रममा राष्ट्रिय सडक सुरक्षा परिषद्का सदस्यसचिव अर्जुनजङ्ग थापा, नेपाल रोड बोर्डका कार्यकारी निर्देशक गणेशबहादुर केसी, यातायात व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद भट्टराई, रोड सेफ्टी सोसाइटीका सचिव सरोज खनालले बोल्नुभएको थियो । सो अवसरमा उपत्यका ट्राफिक प्रहरी तथा रोटरी इन्टरनेशनलका प्रतिनिधिहरु, सडक सुरक्षा अभियन्ताहरु, कार्टुनिस्टहरु र सञ्चारकर्मीहरु सहभागी थिए ।

प्रदर्शनी काउन्सिलमा तीन दिनसम्म रहनेछ भने काठमाडौं उपत्यकाका बस स्टेशन र सडकका मुख्य चोकहरुमा पनि साताभर प्रदर्शन गरिने आयोजकले बताएको छ ।

Previous Post Next Post