दैनिक क्रियाकलाप गर्न तथा आधारभूत शिक्षा सम्बन्धी सिकाईका लागि “ब्यूटिफूल माइण्ड”

काठमाडौं । अटिजम, मष्तिष्क पक्षघात, डाउन सिण्ड्रोम, बौद्धिक लगायतका सिकाई सम्बन्धी समस्या भएका बालबालिकाहरूलाई दैनिक क्रियाकलाप गर्न तथा आधारभूत शिक्षा सम्बन्धी सिकाईका लागि “ब्यूटिफूल माइण्ड” नामक मोबाइल एप्सको उद्घाटन गरिएको छ । अटिजम केयर नेपाल सोसाइटी तथा वल्र्ड एजुकेशनको अग्रसरतामा “नेपालमा उपलब्ध पहुँचयुक्त शैक्षिक श्रोतहरूको विस्तार” कार्यक्रमको आयोजना गरि राजधानीमा सो मोबाइल एप्सको उद्घाटन गरिएको हो । मोबाइल एप्सलाई सिकाई सम्बन्धी समस्या भएका बालबालिकाहरू आफैले उद्घाटन गरेका थिए ।

उद्घाटन कार्यक्रमलाई संवोधन गर्नुहुँदै वल्ड एजुकेशनका राष्ट्रिय निर्देशक हेलेन शेर्पाले सिकाई सम्बन्धी समस्या भएका बालबालिकाहरूलाई दैनिक क्रियाकलाप गर्न तथा आधारभूत शिक्षा सम्बन्धी ज्ञान प्रदान गर्नका लागि यो मोबाइल एप्स अत्यन्तै उपयोगी रहेको बताउनुहुँदै आफ्ना बालबालिकाहरूलाई अभिभावहरू आफैंले नै घरमा बसिबसि सिकाउन सक्ने हुनाले विद्यालयसम्म पुग्न नसकेका बालबालिकाहरूलाई पनि सहज हुने भएकोले यस कार्यमा हातेमालो गर्न पाएकोमा अत्यन्त खुसी लागेको बताउनुभयो ।

उद्घाटन कार्यक्रममा बोल्नुहुँदै शिक्षा तथा मानव श्रोत विकास केन्द्र, समावेशी शिक्षा शाखाका निर्देशक डा। दिव्या दवाडीले यो एक राम्रो शुरूवात भएकोले यसलाई अझ राम्रो पार्दै जानका लागि आवश्यकता अनुसार परिमार्जन तथा अपडेट गर्दै लैजानु पर्ने सुझाव दिनुहुँदै सो एप्स प्रयोग गर्ने तरिका बारे अभिभावकहरूलाई सिकाउनु पर्ने पक्ष चाहिँ चुनौतीपूर्ण रहेको बताउँनुभयो ।

कार्यक्रममा उपस्थित सहभागीहरूलाई स्वागत गर्नुहुँदै अटिजम केयर नेपाल सोसाइटीका अध्यक्ष डा। सुनिता मलेकु अमात्यले यस एप्स निर्माणमा सबैको महत्वपूर्ण भूमिका तथा सहयोग रहेको बताउँनुभयो । त्यसैगरी अटिजम केयर नेपाल सोसाइटीका परियोजना व्यवस्थापक सुरेन्द्र बज्राचार्यले यस एप्स निर्माण गर्ने क्रममाः विभिन्न संघसंस्था तथा सरकारी निकाय लगायतका सम्बन्धित सरोकारवालाहरूसँग पटकपटक भेटघाट तथा छलफल गरि उहाँहरूबाट आएको सल्लाह तथा सुझाव अनुसार एप्स तयार गरिएको जानकारी दिनुभयो । उद्घाटन कार्यक्रममा मोवाइल एप्स बारे जानकारी दिनुहुँदै सो एप्स निर्माणमा प्राविधिक भूमिका निर्वाह गर्नुहुने सचिन श्रेष्ठले नेपाली तथा अंग्रेजी दुबै भाषामा चलाउँन सकिने यो एप्समा शब्द, चित्र, दृष्य तथा एनिमेशनको प्रयोग गरिएकोले बालबालिकाहरूले अत्यन्त रूचाएर प्रयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा सहभागीहरूले सिकाई सम्बन्धी समस्या भएका बालबालिकाहरू विद्यालय जानबाट वञ्चित रहनु परेको अवस्थामा अब यो एप्सबाट पनि सिक्न सक्ने हुनाले यो अत्यन्त उपयोगी रहेको बताए । 

नेपालमा अटिजम सम्बन्धी कुनै पनि जानकारी नभएको तर अटिजम सम्बन्धी समस्या जटिल रहेको अवस्थालाई मध्यनजर गर्दै अटिजम सम्बन्धी अपाङ्गता भएका बालबालिकाहरूको अभिभावकहरूको पहलमा सन् २००८ मा अटिजम केयर नेपाल सोसाइटीको स्थापना भएको हो ।

Previous Post Next Post