२१० औं भानु जयन्ती, सरल नेपाली भाषामा ‘रामायण’ प्रस्तुत गर्ने भानुभक्तलाई सम्झँदा

काठमाडौं । भाषाको माध्यमबाट राष्ट्रिय एकीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका आदिकवि भानुभक्त आचार्यको २१० औँ जन्मजयन्ती शुक्रबार देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।

भानुभक्तको जन्मजयन्ती भारतको दार्जिलिङ, सिक्किमलगायत नेपाली भाषा भाषी धेरै रहेका स्थानमा पनि मनाइन्छ । सरल नेपाली भाषामा लेखिएको भगवान रामको जीवनीलाई भावानुवाद सहितको ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले नेपाली जनतालाई ठूलो गुन लगाउनुभएको थियो । उहाँले लेखेको रामायण अहिले पनि नेपालीका घरघरमा सस्वर लय हालेर पाठ गरिन्छ । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले भौगोलिक रूपमा एकीकरण गरेको नेपाललाई आदिकवि भानुभक्तले भाषा, साहित्य र संस्कृतिमार्फत एकीकरण गर्नुभएको थियो । १८७१ असार २९ गते नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्म भएको हो ।

उहाँका पिताको नाम धनञ्जय आचार्य र माता धर्मावतीदेवी हो । पिता धनञ्जय जागिरे हुँदा भानुभक्तको हेरचाह बाजे श्रीकृष्ण आचार्यबाट भएको थियो । पाँच बर्ष लागेपछि बाजे श्रीकृष्णले माघ शुक्ल पञ्चमीका दिन भानुभक्तलाई अक्षरारम्भ गराउनुभएको थियो । सामान्य घाँसीले “जन्मेपछि राम्रो काम गरेर नाम कमाउनुपर्छ”, भनी अर्ती उपदेश दिएकाले उनी रामायणलाई नेपालीमा रचना गर्न प्रेरित भएको बताइन्छ । ‘बधुशिक्षा’ उनको अर्को प्रसिद्ध कृति हो । यसैगरी उनका ‘प्रश्नोत्तर’, ‘भक्तमाला’, ‘रामगीता’, फुटकर रचनालगायत कृति छन् ।

Previous Post Next Post