आज गुरुपूर्णिमा : गुरुजनप्रति सम्मानभाव प्रकट गरी मनाइँदै

काठमाडौँ । आज आषाढ शुक्ल पूर्णिमा अर्थात् गुरुपूर्णिमा । ज्ञान दिने गुरुको सम्मान गरी मनाइँदैछ । ज्ञान दिएर व्यक्तिको जीवन परिवर्तन गराइदिने हुनाले मातापिताभन्दा गुरु ठूला हुन्छन् भन्ने सनातन वैदिक धर्मको मान्यता रहेको छ ।

शिक्षाको ज्योति प्रदान गरी अन्धकारलाई चिर्ने गुरुजनप्रति सम्मान भाव प्रकट गर्दै सोमबार मुलुकभर ज्ञान दिने गुरुको सम्मान गरी गुरुपूर्णिमा मनाइँदैछ । वैदिक परम्परामा व्यक्तिको ज्ञानप्राप्ति र चरित्रनिर्माणमा माता, पिता र आचार्यको मुख्य भूमिका रहने मानिएको छ ।

मनुस्मृतिअनुसार जन्म दिने, संस्कार गर्ने र मन्त्र दिने वा वेद पढाउनेलाई गुरु भनिन्छ । व्रतबन्धका बेला गायत्री मन्त्र दिने र वेद पढाउनेलाई गुरु भनिन्छ । गुरुदेवो भव भनेर सनातन संस्कृतिमा गुरुलाई देवताकै स्थान दिइएको छ ।

गुरुलाई माता र पितापछिको स्थान दिइएको छ । यद्यपि मानिसको पहिलो गुरु माता र त्यसपछि पितालाई मानिएको छ । ‘जसले अरुलाई आचरणमा राख्छन् र स्वयं पनि आचरणको पालना गर्छन्’, स्मृतिमा भनिएको छ, ‘ती नै गुरु हुन् ।’

सोमबार नै पुराणका रचनाकार महर्षि व्यासको जन्मजयन्ती मनाइँदैछ । व्यासपूजा र गुरुपूजा बर्खाका समयमा एक ठाउँमा बस्ने अर्वाचीन वैष्णव, शैव सन्यासीहरूको परम्पराबाट आएको वेदका ज्ञाता बताउँछन् ।

‘गु’को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश बुझिन्छ । ज्ञानरुपी प्रकाशले अज्ञानरुपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिने तन्त्रशास्त्र र धर्मशास्त्रका पुस्तकमा उल्लेख गरिएको छ । अन्धकारको नाश गरी जीवनमा उज्यालो ल्याउने व्यक्तित्वलाई नै गुरु भनिन्छ । यस्ता गुरुलाई हाम्रो शास्त्रले ब्रह्मा, विष्णु र महेश्वरका रुपसमेत मानेको छ । विभिन्न ग्रन्थमा गुरुप्रति सम्मान भाव यसरी दर्शाइएको छः

गुरुर्ब्रह्मा  गुरुर्विष्णु  गुरुर्देवो  महेश्वरः ।

गुरु साक्षात् परब्रह्म तस्मै श्री गुरवे नमः।।

माता पिताजस्तै गुरुलाई देवता समान मानी ‘आचार्यदेवो भव’ भनिएको छ । गुरु पूर्णिमाका अवसरमा यस दिन विभिन्न विद्यालय एवम् संघ संस्थाले कार्यक्रम गरी शिक्षा, दीक्षा दिने गुरुप्रति श्रद्धाभाव प्रकट गर्ने गरिएको छ ।

यसैगरी आजै वेदलाई ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद गरी चार भागमा विभाजन गरी यसको अर्थ बुझाउन सरल संस्कृत भाषामा १८ पुराण र १८ उपपुराणको रचना गर्नुहुने वेदव्यासको सम्झनामा व्यास जयन्ती पनि मनाउने चलन रहेको छ ।

आषाढ शुक्ल पूर्णिमाकै दिन वेदव्यासको जन्म भएकाले आजकै दिन व्यास जयन्ती मनाउने गरिएको हो । व्यासले पुराण र उपपुराणमा यस्तो सन्देश दिनुभएको छ ः

‘अष्टादश पुराणेषु व्यासस्य वचन द्वयम् ।

परोपकार पुण्याय, पापाय परपीडनम्’  ।।

अर्थात् अरुको उपकार गरे धर्म हुन्छ एवम् अरुलाई पीडा दिए पाप लाग्छ भनी मानवतावादी भावना प्रकट गरिएको छ ।

Previous Post Next Post