माध्यमिक शिक्षा परीक्षा (एसइई) कक्षा १० को नतिजा सार्वजनिक, गत वर्षको तुलनामा सुधारियो नतिजा

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यसवर्ष अन्तिम पटकका लागि २०७२ सालको पद्धतिअनुसार नै सैद्धान्तिक र प्रयोगात्मकको अंक जोडेर माध्यमिक शिक्षा (एसइई) परीक्षाको परीक्षाफल प्रकाशित गरेको छ । राष्ट्रिय परीक्षा बोर्ड मातहतको परीक्षा नियन्त्रण कार्यालयले वि.सं. २०७९ को माध्यमिक शिक्षा परीक्षा (एसइई) कक्षा १० को परीक्षाफल प्रकाशित गरेको हो ।

अध्यक्ष डा. महाश्रम शर्मासहितको उपस्थितिमा भक्तपुरस्थित कार्यालयमा बोर्डको शुक्रबार बसेको बैठकले परीक्षाफल प्रकाशित गर्ने निर्णय गरेको हो ।

वि.सं. २०७२ को पद्धतिअनुसार ९० देखि १०० प्रतिशत प्राप्ताङ्क हुनेलाई ए प्लस, ८० देखि ९० भन्दा कम प्राप्ताङ्क हुनेलाई ए, ७० देखि ८० भन्दा कम प्राप्ताङ्क हुनेलाई बी प्लस ग्रेड प्रदान गरिन्छ । साथै ६० देखि ७० भन्दा कम प्राप्ताङ्क हुनेलाई  बी, ५० देखि ६० भन्दा कम प्राप्ताङ्क हुनेलाई सी प्लस, ४० देखि ५० भन्दा कम प्राप्ताङ्क हुनेलाई सी, ३० देखि ४० भन्दा कम प्राप्ताङ्क हुनेलाई डी प्लस, २० देखि ३० प्राप्ताङ्क हुनेलाई डी तथा २० भन्दा कम प्राप्ताङ्क हुनेलाई ई ग्रेड प्रदान गरिन्छ ।

गत चैत १७ गतेदेखि २९ गतेसम्म देशभरका दुई हजार ३७ परीक्षा केन्द्रमा सञ्चालित परीक्षामा सामुदायिक र संस्थागत विद्यालयका साधारणतर्फ कूल चार लाख ८५ हजार तीन सय ९६ विद्यार्थीको सहभागिता रहेको थियो । परीक्षामा दुई लाख ४२ हजार सात सय १२ जना छात्रा र दुई लाख ४२ हजार छ सय ७४ जना छात्रले भाग लिएको बोर्डले जनाएको  छ । बोर्डका अनुसार प्राविधिक धारतर्फ १५ हजार चार सय ६१ जना परीक्षार्थी थिए ।

गत वर्षको तुलनामा सुधार

एसइईको नतिजा गत वर्षको तुलनामा सुधार देखिएको छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार बिहीबार सार्वजनिक गरेको २०७९ सालको नतिजा अनुसार माथिल्लो ग्रेड ल्याएर उत्तीर्ण हुने परीक्षार्थीको संख्यामा गत वर्षको तुलनामा यस पटक उल्लेख्य सुधार देखिएको हो ।

प्रयोगात्मक अंक दिइने विषयमा विद्यार्थीले उच्च ग्रेड ल्याएका छन् भने प्रयोगात्मक अंक प्रदान नगरिने विषयमा धेरै विद्यार्थीले ई ग्रेड ल्याएका छन् । बोर्डले विद्यार्थीको प्राप्ताङ्क अनुसार विषयगत रूपमा सबैभन्दा उच्च अंक ल्याउनेलाई ए प्लस र सबैभन्दा कम ल्याउनेलाई ई ग्रेड दिएको छ ।

अनिवार्य र ऐच्छिक गणितबाहेक सबै विषयमा २५ नम्बरको प्रयोगात्मक अंक प्रदान गरिन्छ । नतिजा हेर्दा प्रयोगात्मक अंक प्रदान गर्न नमिल्ने भएका कारण अनिवार्य गणित विषयमा सबैभन्दा धेरै अर्थात् एक लाख ५५ हजार ४५८ जनाले ई ग्रेड मात्रै ल्याएका छन् । जब कि प्रयोगात्मक अंक प्रदान गर्न मिल्ने भएकै कारण अनिवार्य अंग्र्रेजी र अनिवार्य विज्ञानमा यो ग्रेड ल्याउने परीक्षार्थी क्रमशः ४०७ र एक हजार ७२१ जना मात्रै छन् । हाल कार्यान्वयनमा ल्याइएको लेटर ग्रेडिङ निर्देशिका अनुसार परीक्षार्थीले सैद्धान्तिक र प्रयोगात्मक दुबैतर्फ ल्याएका अंकलाई जोडेर ग्रेड निर्धारण गरिन्छ । यसले गर्दा सैद्धान्तिकमा थोरै अंक ल्याउनेले पनि प्रयोगात्मकतर्फको अंकको सहयोगका कारण माथिल्लो ग्रेड ल्याएको देखिन्छ । आगामी वर्षदेखि भने हरेक विषयमा सैद्धान्तिकतर्फ अनिवार्य ३५ अंक ल्याउनै पर्ने व्यवस्था लागु हुँदैछ ।

एसईईको नतिजा हेर्न

एसएमएसका लागि १६००, ३१००३, ३४९४९, ३५००१ र ३१०६४ मा डायल गर्न सक्ने व्यवस्था गरेको छ । नतिजाका हेर्नका लागि राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतको कक्षा १० को परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरको बेवसाइट www.see.gov.np मा हेर्न सकिने बोर्डले जनाएको छ ।

त्यस्तै राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीको www.neb.gov.np, नेपाल टेलिकमको www.see.ntc.net.np, www.khaltif.com, www.neemaacademy.com, www.ekantipur.com, www.theconncetplus.com, www.see.edusanjal.com, www.admissionnepal.com, www.seenicasiabank.com, www.neemaaacademy.com, www.mypay.com.np, www.nepaleducatipnportal.com, www.ayoresult.com, ww.results.matraeducation.com, www.tuteeline.com बाट नतिजा हेर्न सकिने व्यवस्था गरिएको छ ।

Previous Post Next Post