जनप्रिय माध्यमिक विद्यालयमा मनाइयो ५८ औं वार्षिकोत्सव तथा अभिभावक दिवस

अर्घाखाँची, भूमिकास्थान । भूमिकास्थान असुरकोटस्थित जनप्रिय माध्यमिक विद्यालयमा शनिबार “५८ औं वार्षिकोत्सव तथा ५९ औं शुभ जन्मोत्सव एवं अभिभावक दिवस, सम्मान र पुरस्कार वितरण कार्यक्रम २०८०” मनाइएको छ ।

विद्यालयको प्राङ्गणमा आयोजित एक समारोहमा विद्यार्थीहरुले विविध सांस्कृतिक कार्यक्रममार्फत आफ्ना प्रतिभा प्रस्तुत गरेका थिए ।

कार्यक्रममा विद्यालयका प्र्रधानाध्यापक पूर्ण प्रसाद श्रेष्ठले विद्यालयका विविध गतिविधिमाथि प्रकाश पार्दै जनप्रिय माविलाई नगरदेखि राष्ट्रकै गौरव गर्नलायक शैक्षिक संस्था बनाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

विद्यालयको शैक्षिक गुणस्तर बृद्धि गर्न विद्यार्थी र अभिभावकसँग निरन्तर छलफल गर्ने गरिएको जानकारी दिंदै उहाँले विद्यालयको कम्प्युटर शिक्षालाई थप व्यवस्थित बनाउँदै लगिएको बताउनुभयो ।

साथै विद्यालयको पठनपाठनमा सुधार गर्न शिक्षक शिक्षण सुधार योजना र विद्यार्थीका लागि सिकाई सुधार योजना लागु गरिएको प्रधानाध्यापक श्रेष्ठले जानकारी दिनुभयो ।

भुमिकास्थान नगरपालिकाका प्रमुख झविलाल थापाले विद्यालयका शैक्षिक क्रियाकलाप जीवनोपयोगी र गुणस्तरीय भएको भन्दै अझै प्रभावकारी बनाउँदै लैजान उत्तरोतर प्रगतिको कामना गर्नुभएको थियो ।

विद्यालयको भवन र खेलमैदानलगायतका समस्या समाधानका लागि नगरपालिकाको तर्फबाट सक्दो प्रयास भइरहेको उहाँको भनाई थियो ।

कार्यक्रममा विद्यालयका शिक्षक, कर्मचारी, विद्यार्थी, अभिभावकका साथै स्थानीय समाजसेवीलगायतको उपस्थिति रहेको थियो । समारोहमा उत्कृष्ट विद्यार्थीहरुलाई परस्कृत गरिएको थियो ।






Previous Post Next Post