अवेरनेस इन्टरनेसनल एकेडेमीमा तीन दिने कथा लेखन कार्यशाला सम्पन्न

काठमाडौं । बानेश्वरको शंखमूलस्थित अवेरनेस इन्टरनेसनल एकेडेमीमा तीन दिने कथा लेखन कार्यशाला गोष्ठी आयोजना गरिएको छ । कार्यशालाको आइतबार समापन समारोहलाई सम्बोधन गर्दै कार्यशालाका सहजकर्ता तथा विद्यालयका निर्देशक चेतनाथ कँडेलले नेपाली समाजमा बालकथाहरूको अभाव रहेको सन्दर्भमा कथा कार्यशाला गोष्ठी उपलब्धिमूलक रहने विश्वास व्यक्त गर्नुभयो ।

समाजका विविध पक्षबारे बालबालिकाको अनुभव, भोगाइ र सिकाइलाई लेखन सीपका माध्यमबाट अभिव्यक्त गराउने उद्देश्यले बाल कथा लेखन कार्यशाला आयोजना गरिएको उहाँले बताउनुभयो ।

कार्यशालामा एआइएमै कक्षा छ देखि १० कक्षामा अध्ययनरत ४४ जना विद्यार्थीको सहभागिता रहेको थियो ।

विद्यालायमै आयोजित कार्यशाला गोष्ठीमा सहभागीमध्ये ४४ जना विद्यार्थीहरूले एक/एक वटा कथा लेखेका थिए भने उत्कृष्ट १० वटा कथा समापन कार्यक्रममा वाचन गरिएको थियो ।

बालबालिकाले समाजमा विद्यमान विकृति, विसंगति, रुढीवादी परम्परागत र बदलिँदो समय र परिस्थितिबाट सिर्जना भएका समस्यालाई कथाका विषयवस्तुको रुपमा प्रस्तुत गरेका थिए ।

कार्यशालामा बालबालिकालाई साहित्यकार विजयराज आचार्यले प्रशिक्षण दिनुभएको थियो । कथा लेखनका लागि आवश्यक ज्ञान तथा सीप, कथा बन्न आवश्यक तत्व लगायतका बारे उहाँले प्रशिक्षण प्रदान गर्नुभएको थियो ।

समापनमा बोल्दै विद्यालयका प्रिन्सिपल विमल घिमिरेले कथा लोकप्रिय र सरल विधा भएकाले कथा लेखनलाई निरन्तरता दिन सहभागी बालबालिकालाई आग्रह गर्नुभयो । समाजका विविध क्षेत्रका घटना, परिवेश, भोगाइलाई आधार बनाएर कथा लेख्न सकिने उहाँको भनाई थियो ।

बालबालिकाको अन्तरनिहीत क्षमता प्रष्फुटन गर्दै उनीहरूको व्यक्तित्व विकासका लागि विद्यालयले सधैं रचानात्मक क्रियाकलापलाई प्रवर्द्धन गर्दै आएको उहाँले बताउनुभयो ।

कार्यशालाका प्रशिक्षक आचार्यले बालबालिकाले उत्साहित भई सक्रियतापूर्वक कार्यक्रममा सहभागी भएको बताउँदै उनीहरुको सक्रियता र उत्साहलाई हेर्दा कथा लेखनको राम्रो सम्भावना देखिएको बताउनुभयो ।

कार्यशालामा सहभागी बालबालिकाहरुले पहिला बालकथा लेखनबारे आफूलाई ज्ञान नभएको बताउँदै कार्यशालाबाट कथा लेख्न प्रेरणा मिलेको बताएका थिए । कथा लेखनबारे राम्रो ज्ञान पाएकाले आगामी दिनमा लेखनलाई निरन्तरता दिने तथा आफ्ना वरिपरि देखेका, सुनेका विषयवस्तुलाई कलात्मक ढंगले लेख्ने सीप भएकोमा खुशी व्यक्त गरेका थिए ।

कार्यक्रममा विद्यालयका उप–प्रधानाचार्य खगेश्वर गिरी, निर्देशक कृष्ण प्रसाद गैरे र शैलेन्द्रकुमार झा, कार्यकारी निर्देशक विष्णुप्रसाद अर्याललगायतले बोल्नुभएको थियो ।







Previous Post Next Post