दसैँ

प्रशिद्धि रेग्मी

धानका बाला झुलेसँगै दसैँ तिहारको लहर आउँछ । टाढिएका परिवारहरूको भेटघाट हुन्छ । गाउँका पुराना घरहरूको लिपपोत हुन्छ । रातो माटो र सेतो कमेरोले पोतिएको घर, सिगाँरिएका झ्याल ढोका भर्खरै बनाएको हो कि जस्तै नयाँ हुन्छन् । मुग्लान गएका लाहुरे छोराहरू  झोला भिरेर घर फर्किंदा बुढा आमाबाको मुहारमा मुस्कानको सीमा नै रहन्न । अरुबेला शून्य हुने गाउँमा दशैँ आएपछि चहलपहल हुन्छ ।

चोक चौतारामा मानिसहरु भेला हुन्छन् । पुराना दिनको सम्झना हुन्छ । यी सारा दृश्य हेरेर गाउँ आफैँ रमाएको हुन्छ । जताततै खुसीयाली छाएको हुन्छ  । बाटोघाटो सफा सुघर हुन्छ । नेपालीको महान् चाड दसैँ भित्रिएपछि जताततै आनन्दको वर्षा हुन्छ । लामो निधारमा थापेका टीका हाँस्छन् । कानमा पहेँला जमरा फुल्छन् ।

टीकाको दिन बिहानैदेखि दुर्गामाताको मन्दिरमा पूजा गरेर आएपछि टीकाको थालमा राखिएका ती नयाँ नोट र ठुलाले दिने आशर्विाद सम्झेर त्यो दिन कहिले आउला भनी औँला भाँची भाँची दिन गन्दै बस्न मन लाग्छ । हर्ष उल्लासका साथ मनाइने यो चाड कहिले आउँछ भनी  सबै नेपालीहरू वर्ष दिनसम्म कुरिरहन्छन् ।

दसैँका लागि जतनसँग साँचेका ती नयाँनयाँ नोटहरु र दस दिनअघि राखेका ती जमराहरू पनि कहिले शिरमा सजिन पाउँला भनी पर्खाइमा हुन्छन् । दसैँको महत्त्वलाई बखान गर्दै बनाइएका गीतहरू जताततै घन्किरहेका हुन्छन् । देउराली र भञ्ज्याङ अनि चोक र चौतारामा पिर्के पिङ, लठ्ठे पिङ, जाँते पिङमा रमाउँछन् ।

 घर घरमा    ती सेल रोटी र मिष्ठान्नका सुगन्ध फैलिन्छन् । आगोको रापमा तातेका तेलका कराहीमा झ्वाँइय्य  गर्दै आमा दिदीहरू छन्छन् चुरा बजेका हातले सेलको फन्को मारेका हुन्छन् । सेल रोटीका बाला हातमा भिरेर वल्लो डहर र पल्लो डहर गर्दै खेल्नेलाई पो दसैँको रमाइलोको स्वाद थाहा हुन्छ ।

खेल्नका खेलकुदको मैदान किन चाहिन्छ र ? आँगन, बारी जता पनि उनीहरूको खेल मैदान हुन्छ । बालबालिका चङ्गाको लट्टाइ समाएर आँगनको वल्लो छेउ र पल्लो छेउ गरिरहेका हुन्छन् । ल...ल ..ल हेर् हेर् .. मेरो चङ्गा माथि कि तेरो चङ्गा माथि भन्ने होड चलेको हुन्छ । पिङमा मच्चिनेको सरर ...र सरर.........र, चचहुई ....... चचहुई ......का आवाज चारैतिर घन्किन्छन् ।

आँगनका छेउछाउ, बारीका  कान्लामा फुलेका फूलले स्वर्ग नै यहीँ  हो कि जस्तो बनाइ दिन्छन् । दसैँका लागि साँचेका र दसैँकै लागि किनेका राम्रा राम्रो कपडा लगाएर, गहना गुरियाले चिरिच्याँट्ट परेर फोटो खिच्नेले म जस्तो राम्रो त को होला र ? भन्छन् ।

आफूभन्दा जेठा, आफूभन्दा ठुला मान्यजनसँग आशीर्वाद लिँदै मर्यादा अनुसार गरिने ढोगभेटको आफ्नै पहिचान छ । पढेका नपढेका जस्तासुकै होउन् सबैले माता दुर्गा भवानीको नाम जोडिएका श्लोक पढेकै हुन्छन् । छपन्न कोटी दुर्गा, नव दुर्गा जस्ता माता भवानीका धेरै थरी नाम सम्झँदै निधारको वल्लो छेउेदेखि पल्लो छेउसम्म  टमक्क टीका लगाइदिँदै मनले सम्झे जति आशीर्वाद दिइरहन्छन् । सबै आफन्तसँगको नाता सम्बन्ध थाहा हुन्छ । चिनाजानी हुन्छ ।

कसलाई कुन प्रकारको सम्मान गर्नुपर्छ भन्ने थाहा हुन्छ । गाउँको समाजको र परिवारको चलन के छ  भन्ने थाहा हुन्छ । पुराना रिसराग सबै बिर्साउन आएको हुन्छ दसैँ । सबैका मुखमा हँसिलो भर्न आएको हुन्छ दसैँ । ऋण धन जे भए पनि दसैैँले सबैलाई हाँसीखुसी बनाएको हुन्छ । पिर मर्काका कुरा गर्न कहाँ भ्याइन्छ र ? शरद ऋतुको सुनौलो संसार र दसैँको खुशीको संसारसँग सबैको मोहनी छ ।

कक्षा ८, अवेरनेस इन्टरनेसनल एकेडेमी (एआईए ) शंखमूल

Previous Post Next Post