सुत्केरो : कतै हर्ष, कतै खल्लो

गरिमा भट्टराई

ठूलाबडाले टीका लगाइदिने, आशीर्वाद प्रदान गर्ने, सानाले निधारमा टीका थाप्ने, आशीर्वाद ग्रहण गर्ने प्रचलन परापूृर्वकालदेखि चल्दै आएको हो । जीवनयापन गर्न एक ठाउँबाट अर्को ठाउँमा गएका प्रायः व्यक्तिहरु आ–आफ्ना कर्मस्थल छोडेर जन्मभूमिमा गई आफन्त भेटघाट गर्ने कार्य सदियौँदेखि चल्दै आएको छ । पिङ खेल्ने, रमाउने त्यसैगरी ससाना बालबालिकाहरुलाई त दशैँमा टीका लगाएर दक्षिणा कति भयो र कसले धेरै कमायो भन्ने कुरा चासोको विषय हुन्थ्यो । त्यसैले सम्पूर्ण नेपालीहरुको हर्ष, उल्लास र रौनकको चाड भनी दशैँलाई मान्ने गरिन्छ ।

मलाई पनि दशैँ आएपछि सानैदेखि नै रमाइलो लाग्ने गथ्र्यो । भदौँदेखि त दिन गन्दै “दशैँ आउन अब यति दिन बाँकी उति दिन बाँकी” भन्ने हुन्थ्यो । स्कुलको बिदा छुट्टै पाटो हो तर मेरो त दशैँमा गाउँ जाने, हजुरआमाको र ठूलाबडाको हातको टीका लगाउने, आशीर्वाद थाप्ने कुराले मन चङ्गा जस्तै उडेर रमाउँथ्यो । सानैदेखि नै आशीर्वाद ठूलो कुरा हो भन्ने मलाई लाग्थ्यो । भनिन्छ नि “मिहिनेतले जीवनलाई सफल बनाउँछ ।” मलाई यो भनाइ अधुरो जस्तो लाग्थ्यो र लाग्छ पनि किनभने मिहिनेतमा ठूलाबडाको आशीर्वाद थपेपछि मात्र त्यो मानिसको मिहिनेतले सार्थकता पाउँछ । दशैँको टीकामा साँच्चिकै ठूलो शक्ति हुन्छ ।

कहिलेकाहीको दशैँ भने खल्लो हुने गर्छ । खल्लो हुनुका कारण जुठो (कोही मरेमा १३ दिन सम्म) र सुत्केरो (कोही जन्मेमा ११ दिन सम्म) हुन् । जुठोमा कोही व्यक्तिको देहावसान भएर उसका परिवारहरु शोकमा डुबिरहँदा, कृया गरेर बसिरहँदा, सेतो कपडाले शरीर बेर्दा, परिवारकै अर्को व्यक्तिले दशैँ मनाई, राता टीका, नयाँ लुगा लगाई, मीठो परिकारहरु खाई, सामाजिक सञ्जालमा फोटो, भिडियो पोष्टाई बस्नु पक्कै पनि औचित्यहीन हुने गर्छ । सम्बन्ध र मानवताको नाताले पनि दिँदैन तर मैले नबुझेको कुरा चाहिँ जब मानिसले बच्चा जन्माउँछ, त्यहाँ त खुशी छाएको हुन्छ, रमाइलो माहोल हुन्छ । त्यही पनि सुत्केरो चाहिँ किन बार्छन् होला ?

हो यस्तै खल्लो दशैँ हामीले २०७८ मा अर्थात् परार भोग्यौँ । ८६ वर्षकी हजुरआमाले र हामीले पनि दशैँ कहिले आउँला र दशैँको टीका लगाउँला भनेर कुरिरहेका थियौँ । निकै उत्साहित थियाँै । कोरोनाले गर्दा सो वर्ष भन्दा अघिल्लो दशैँमा पनि यहाँबाट जान डरायौँ । टीका थाप्न जाँदा कोरोना पनिसँगै लिएर गई हजुरआमालाई केही हुने हो कि भनी डराउनुपर्ने बाध्यता थियो । त्यसैले यो वर्ष त आहै टीका लगाउन पाइने भयो भनी खुशी थियौँ तर फेसबुक हेर्दाहेर्दै ठ्याक्कै आँखा त “बधाई छ नानीको आगमनमा” भन्ने लेखिएको वाक्यमा गयो । हाम्रो परिवारमा नानी जन्मिछन् तर यो कुरा लुकाएको भए पनि हुने थियो । खुशी त पक्कै लाग्ने भयो । सम्बद्ध व्यक्तिले पनि खुशी लागेर नै सबैलाई थाहा दिन्छु भन्नु भएर नै होला । यो त मानवीय गुण नै हो नि दुःख लुकाउन खोज्नु र सुख खुलाउन खोज्नु तर झल्यास्स सम्झेँ र क्यालेन्डरतिर आँखा लगिहालेँ । “अहो !!! दशैँ त छेकिहालेछ नि !” खल्लो लाग्यो ।

“ठिकै छ नि हजुरआमा र आफन्तजन त भेट्न पाइन्छ” भन्दै हामी सपरिवार हजुरआमालाई भेट्न गयौँ । सबैजना भेट भयौँ भनी हजुरआमा खुशी भएर पनि हजुरआमाको मुहारमा दशैँमा टीका लगाउन पाइएन भन्ने कुराको चिन्ता प्रष्ट देखिन्थ्यो । “सुत्केरो त नभनेको भए पनि त हुन्थ्यो नि तिमीहरुलाई टीका लगाइदिन पाइँन ।” हजुरआमाले निराश हुँदै भन्नुभएको थियो । “ठिकै छ नि हजुरआमा ! भेटघाट भइहाल्यो ! टीका अर्को वर्ष लगाआँैला नि हुन्न !!” हामीले सम्झायौँ । हजुरआमा निःशब्द हुनुभयो । सम्झाउँदा पनि हजुरआमाको मुहार प्रफुल्लित देख्न सकिएन ।

दुभाग्र्यवश दुई महिना पश्चात् हामीले हजुरआमालाई गुमायौँ । उहाँ मंसिरमा ब्रह्मलीन हुनुभयो । सायद हजुरआमाले कता कता अब टीका लगाउन पाइँदैन कि भन्ने कुरामा आश मार्दै जानुभएको थियोे जस्तो पनि लाग्छ ! त्यसैले होला टीका लगाउन नपाएकोमा सा¥है पीर मान्नुभएको थियो ।

त्यसपछि मैले के मनन गरेँ भने मरण त कसको कहिले कतिखेर हुन्छ कसैलाई थाहा छैन, चाडबाड कहिले कसको कोसँग अन्तिम हुन्छ, थाँहा हुँदो रहेनछ त्यसैले चाडबाड मनाउने कार्य रमाइलो गरी गर्नुपर्ने रहेछ । मान्छेको देहान्त भएको बखतमा मानवीय सम्बन्ध र नैतिकताले पनि चाड पर्व मनाउन मिल्ने कुरै भएन तर मान्छे जन्मिनु भनेको खुशीको पल हो नि ! यसमा किन छेकथुन ? कुनै प्रचलन, कुनै प्रथा परम्परालाई चट्टै छोड्न पनि गा¥है हुने कुरा हो तर यस्तो समाचारलाई ११ दिनका दिन न्वारन भएपछि राख्दा पनि त सबैले बधाई तथा खुशी र शुभकामना व्यक्त गर्दछन् । सम्भव भए कोही भेट्न आउलान् पनि ।

तर मन अमिलो भइरेको छ किनभने हजुरआमाको हातको टीका अब मैले कहिले पनि लगाउन पाउँदिन । न उहाँले नै आफ्ना छोरा बुहारी र नाति नातिनालाई टीका लगाइदिन पाउनु हुन्छ । दशैँमा हजुरआमाको साह्रै याद आउनेछ । सबै कुरा भएर पनि अब हजुरआमाको हातको टीका लगाउन पाउने हाम्रो अविलाशा सधैँ अधुरो नै हुनेछ । यो मेरो मात्र कथा होइन । धेरैजनाले यस्तो भोगाइ भोग्नुपरेको छ । म त प्रतिनिधि स्वरुप यो कुरालाई लेख मार्फत जनाएको मात्र हो । साच्चिकैँ सामाजिक सञ्जालमा यस्तो संवेदनशील कुरा राख्ने बेला सबैले विचार गर्दा कस्तो होला ?

Previous Post Next Post