अविश्मरणीय कालिञ्चोक भगवती दर्शन यात्रा

एकता कोईराला

यस पटकको मेरो जन्मदिन र सो पश्चात दुई दिनको विदाको अवसर पारेर मेरो घरका चार सदस्य र बाबाको साथी श्री अंकलको परिवारका तीन सदस्य समेत गरी जम्मा सात जना हामीहरु दोलखा जिल्लाको प्रसिद्ध धार्मिक स्थल कालिञ्चोक भगवतीको दर्शन गर्न यात्रामा निस्किने योजना मुताविक यहि पुस ८ गते त्यतातर्फ जाने निधो ग-यौं ।

पुस ८ गते, चिसो मौसम, मेरो जन्मदिन पनि । बाबा मामुले गज्जबको योजना बनाउनुभयो । शुरुमा त जन्मदिन मनाउन नपाइने भयो भनेर अलि नरमाइलो लाग्दै थियो । तर नयाँ ठाउँ घुम्न जाने भनेपछि म पनि चुप लागें । बिहान करिब ११ बजेलाई व्यवस्था गरिएको सवारी साधन मार्फत हामी सातै जना र ड्राइभर अंकल सहित घरबाट निस्कियौं । बाटोमा खाने हलुका खाना, खाजा सहित निस्किएका हामी भक्तपुरको भाटभटेनीमा किनमेल गर्न रोकियौं । बाबाको साथी श्री अंकल मात्र किनमेलका लागि जानुभयो । मेरो बाबा नजानुभएको किन होला भन्ने कौतुहलता लागि रह्यो । त्यहाँबाट हामी एक घण्टाको यात्रापछि धुलिखेलबाट अलि तल खावा भन्ने स्थानमा पुनः रोकियौं । मीठो लस्सी खायौं । ममीलाई अलि चिसो लागेको हुनाले कफि पिउनुभयो । दुबै चिज खाएँ मैले । करिब आधा घण्टा अलमल पश्चात यात्रा शुरु भयो । यसपटक चाहिं खाडीचौर भन्दा अलि माथि पुगेर गाडी रोकियो, त्यो पनि घुमाउरो बाटो गाडी लागेर । एकैछिनको रोकाइ पछि अगाडी बढ्यौं ।

मुडे भन्ने स्थानमा पुगेपछि एउटा नास्ताको पसलमा पुगेर गाडी राकियो । सबैजना गाडीबाट ओर्लियौं, चिसो बढ्दै थियो । बाबा र श्री अंकल पसलमा खानेकुराहरु अर्डर गर्दै खासखुस गर्दै हुनुहुन्थ्यो । हाम्रो खाना आइसकेपछि ड्राइभर अंकलले एक राम्रो गरी प्याक गरिएको केही चिज ल्याउनुभयो । बाबाले मेरो हातमा दिंदै “ह्याप्पी बर्थ डे छोरी” भन्नुभयो । मलाई सरप्राइज दिने मनसायले बाबाले अघि नै श्री अंकलसँग सल्लाह गरी भाटभटेनीबाट केक पो ल्याउनुभएको रहेछ । म पनि नयाँ ठाउँमा नयाँ परिवेशमा केक काटेर जन्मदिन मनाउन पाउँदा दंग परें, केक काटें र सबैजनालाई बाँडेर खायौं । करिब एक घण्टा त्यहाँ बसेर वरपरको वातावरण, जंगल र डाँडालाई नियाल्दै फोटो खिच्यौं र रमाइलो ग-यौं र पूनः गन्तव्यलाई पछ्याउँदै अगाडि बढ्यौं । मकैबारी भन्ने स्थानसम्म बाटो राम्रो रहेछ । त्यो भन्दा माथि करिब चार किलोमिटर पीच, त्यसपछि कच्ची सडक । फेरी एक घण्टाको यात्रापछि हामी कुरी बजार प्रवेशद्धारमा पुग्ने वित्तिकै ड्राइभर अंकलले गाडी रोक्नुभयो र यहाँ फोटो लिनु राम्रो आउँछ भन्नुभयो । हामी पनि दंग पर्दै गाडीबाट अर्लिएका मात्र के थियौं, निकै जाडो महसुस भयो । तैपनि फोटो लियौं र माथि डाँडासम्म पुग्यौं । निकै चिसो तर पनि धेरै रमाइलो भयो ।

कुरी बजार करिब माइनस एक डिग्री तापक्रमका साथ हामीलाई स्वागत गर्न आतुर थियो । सुनापति रिसोर्ट प्रा. लि.मा हाम्रो वासको व्यवस्था श्री अंकलले गर्नुभएको थियो । त्यस रिसोर्टमा पुगेर रिसोर्टको रुममा गयौं । केही बेरपछि तल झ-यौं । हलमा आगो बाल्ने व्यवस्था गरिएको रहेछ । सो स्थानमा काठमाडौंको गोकर्णबाट शैक्षिक भ्रमणमा आएका स्कूलका विद्यार्थीहरु समेत नाचगान गर्दै रमाइलो गर्दै रहेछन् । हामी पनि उनीहरुको नाचगान हेर्दै, आगो ताप्दै केही नास्ता ग-यांै र करिब साँझको ८ बजेतिर खाना खाई आफ्नो कोठातिर लाग्यौं । बिहान चाँडै उठी भगवती माताको दर्शन गर्ने भनी चाँडै नै सुत्ने तरखर ग-यौं ।

भोलीपल्ट पुस ९ गते सोमबार बिहान ५ बजे बाबाले उठाउनुभयो । घरमा सधैं ७ बजेसम्म सुत्ने मलाई त्यति बिहानै उठ्न गा¥हो त भयो तर घुम्न जाने, माताको दर्शन गर्ने भनेपछि सकि नसकि उठेँ र तयार भएँ । करिब ६ बजे हामी होटलबाट निस्कियौं । बाहिरको तापक्रम माइनस तीन डिग्री सेल्सियस भएतापनि दृढ इच्छ्याको तापक्रमलाई बढाई मन्दिरतर्फ अगाडी बढ्यौं । होटलबाट अलि अगाडी बढी केबलकार रहेको स्थानसम्म पुग्यौं र सोबाट डाँडामाथि रहेको भगवती मन्दिर पुग्यौं । मन्दिर पुग्दा सूर्योदय भएकै थिएन । हामी मन्दिर परिसरमा एकछिन घुम्यौं । बाबा, ममी, श्री अंकल, दिपीका अण्टी र बहिनीहरु रमाइलो मान्दै पूजा गर्दै हुनुहुन्थ्यो, ठीक त्यसैबेला सूर्योदय पनि भयो । कस्तो दिब्य समय । म पनि सूर्य उदाएको हेर्दै पूजामा सरिक भएँ । सायद स्वर्गीय आनन्द भनेकै यही हो । कालिञ्चोक माताको सामिप्यता, सूर्योदयको फोटो, बादलभन्दा माथि पुगेको अवस्था, बादललाई निकै तल राखी खिचिएको फोटोहरु मानसपटलमा कैद गर्दै थियौं । समय बितेको पत्तै नपाइने, बाबाले ल अब तल जाने बेला भन्नुभयो । मन नलागी नलागी पुनः केबलकार मार्फत तल कुरी बजारस्थित होटलतिर फर्किन थाल्यौं । बाटोमा घरको लागि आवश्यक याकको छुर्पी, जिम्बु आदि किनमेल पनि ग-यौं ।

होटल पुगी बिहानको नास्ता मात्र के गरिसकेका थियौं, श्री अंकलले तल चरिकोट झरौं र भिमेश्वरको पनि दर्शन गरौं भन्नुभयो । बाबा र ममी तयार नहुने कुरै भएन । दोलखा भिमसेन मन्दिर–दोलखा जिल्लाको अर्को धार्मिक तथा पर्यटकीय गन्तब्य । त्यहाँ पुगेर भगवान भिमसेनको दर्शन गरियो । तत्पश्चात चरिकोट बजारमा रहेको एक होटलमा खाना खान गयौं । खाना मीठो थियो । मलाई चाहिँ त्यस होटलको सुनौलो रंगको चम्चा सा-है मन प-यो । खाना खाएपछि त्यहाँबाट कारिब १२ बजे हामी काठमाडौंतर्फ फर्कियौं । खाडीचौर पुगेर घरको लागि चाहिने केही चाइनिज सरसामान खरिद ग-यौं र फर्किदै गर्दा बनेपा बजारबाट अलि अगाडी मामाज् क्याफे भन्ने होटलमा नास्ता खायौं । खुवा टोष्ट, त्यहाँको स्पेशल, मुखमै झुण्डिने । ममीको कान फुकेपछि हट चकलेट पनि खान पाएँ । बहिनी निरता दंग, म पनि दंग, हामी दंग परेपछि बाबा र ममी पनि हुनै प-यो ।

करिब ६ः३० बजे घर आइपुगियो । दुई दिनको यात्रा र जिन्दगीभरिको लागि याद सम्हाली यो यात्रालाई बिट मारियो । वास्तवमा ज्ञान भनेको यात्राबाट पनि लिन सकिन्छ भनेर मामु भन्दै हुनुहुन्थ्यो, हो रहेछ । धन्यवाद मामु, धन्यवाद बाबा ।

कक्षाः ७, काञ्जिरोवा नेशनल स्कूल, कोटेश्वर

Previous Post Next Post