समाजका अनेक पाटा बोकेको सन्देशमूलक स्वस्थानी कथा

गीता पौडेल

कुमारजी आज्ञा गर्नु हुन्छ हे अगस्त्य मुनि तिमी एक चित्त भई सुन....’ यो वाक्य त सबैले सुनेकै छौं । साँझपख घरघरमा यसरी पाका मान्छेबाट स्वस्थानी कथा भट्याउँदै गरेको पनि सुनेका छौं होला ।

बिहीबार पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्मको एक महिने अवधिमा घरघरमा मनाइने श्रीस्वस्थानी परमेश्वरीको व्रत शुरु भएको छ । श्रीस्वस्थानीको व्रत बसी कथा सुन्ने र सुनाउने गरे मनोकांक्षा पूरा हुने धार्मिक विश्वासका साथ प्रत्येक वर्ष घर–घरमा श्रीस्वस्थानीको कथा सुनाउने गरिन्छ ।

यो व्रत नेपाली महिलाहरूले गर्ने कठिन व्रतको पर्व हो । यो व्रतमा भगवान शिवको पूजा आराधना गरिन्छ । सत्य युगमा भगवान विष्णुको सल्लाह अनुसार हिमालयकी पुत्री पार्वतीले महादेव पति पाउन श्रीस्वस्थानीको व्रत बसेको र चिताएको पुरा भएको विश्वासमा यो व्रतकथा र माघ स्नानको प्रचलन रहेको विश्वास गरिन्छ । विशेष गरि महिलाहरू मात्र व्रतालु हुने यो व्रत बस्नाले व्रतकथामा वर्णन गरिए जस्तै सुख, शान्ति, समृद्धि मिल्नुका साथै रोगब्याध पनि नष्ट हुने विश्वास गरिन्छ । व्रतका प्रभावले शिव पार्वतीको विवाह भएको कुरा पौराणिक धर्म ग्रन्थहरुमा पनि चर्चा भएका कारण परम्परागत रुपमा उक्त व्रतकथा प्रचलित हुँदै आएको भनाई छ ।

पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना श्रीस्वस्थानीको व्रत र माघ स्नान गरिन्छ । पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर ब्रतको सुरुवात हुन्छ । बिहान माघ स्नान गरी मध्याह्नकालमा महादेवको पूजा गरिन्छ । बेलुकी स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी व्रत कथा सुन्ने सुनाउने परम्परा छ ।

एक महिनासम्म यो विधिबाट व्रत गरी माघ शुक्ल पूर्णिमाका दिन १०८ जनै, १०८ सुपारी, १०८ पान, १०८ फूल, १०८ रोटी, १०८ अक्षता विभिन्न फलफूल, धूप, बत्ती, नैवेद्य, श्रीखण्ड, रक्तचन्दन, सिन्दूर, वस्त्र, भेटी चढाई व्रतको कामना पूर्ण होस् भनी भगवतीलाई अर्घ दिइन्छ । चढाइएका प्रसादमध्ये सबैबाट आठ र आठ पतिलाई, पति नभए छोरालाई र छोरा पनि नभए मीत छोरालाई एवम् मीत छोरा पनि नभएमा कामना सिद्ध होस् भनी नजिकको पवित्र नदीमा लगेर बगाउने व्रत विधि छ ।

सय रोटी व्रतालु आफैँले फलाहार गरी रातमा जाग्राम बसिन्छ । जाग्रामका समयमा देवीको माहात्म्य सुन्ने सुनाउने गरिन्छ । यसो गरेमा व्रतालुको मनोकांक्षा पूरा हुन्छ भन्ने धार्मिक विश्वास छ । स्वस्थानीको शाब्दिक अर्थ आफू बसेको स्थानको देवी भन्ने बुझिन्छ ।

आफू बसेको स्थानकी देवीको पूजा गर्नु नै स्वस्थानी पूजा गर्नु हो । उत्तरायणपछिको समय ध्यान योग साधनाका लागि उपयुक्त भएकाले स्वस्थान अर्थात आफ्नो आत्मामा सम्पर्कको अभ्यास गर्नुलाई स्वस्थानी भनिएको विश्वास पनि छ ।

धार्मिक विश्वास

स्वस्थानी व्रतकथामा उल्लेख भएअनुसार महादेवकी पत्नी सतीदेवीले आफ्ना पतिलाई बाबुले गरेको अपमान सहन नसकी यज्ञकुण्डमा प्राण त्यागेपछि हिमालय र मेनकाकी छोरी पार्वतीका रुपमा उनको जन्म भएको हो । पार्वती सानै उमेरदेखि नै महादेव पति पाउने कामना गरिरहन्थिन् । विवाहयोग्य भएपछि पिता हिमालयले भगवान विष्णुलाई कन्यादान गरिदिने कुरा थाहा पाएपछि पार्वती भागेर अनकन्टार वनमा गई महादेवको ध्यान गर्न लागिन् । यसबाट खुसी भएर महादेवले आफूलाई पतिका रुपमा पाउन विष्णुुले भनेअनुसार गर्न सल्लाह दिए । विष्णुुले महादेव पति पाउन स्वस्थानी व्रत गर्ने सल्लाह दिएपछि पार्वतीले विधिपूर्वक एक महिनासम्म स्वस्थानीको व्रत गरेकामा उनले महादेव पति पाएको विश्वास विश्वास गरिन्छ । व्रतका प्रभावले शिव पार्वतीको विवाह भएको कुरा पौराणिक धर्म ग्रन्थहरुमा पनि चर्चा भएका कारण परम्परागत रुपमा उक्त व्रतकथा प्रचलित हुँदै आएको छ ।

व्रतको नियम

पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर यसको शुरुवात हुन्छ । बिहान माघ स्नान गरी नित्य मध्याह्नकालमा महादेवको पूजा गरिन्छ । बेलुकी स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी व्रत कथा सुन्ने सुनाउने परम्परा छ । काठमाडौंको साँखुस्थित शाली नदी, पशुपति, गौरीघाट, गुहेश्वरी, सतिदेवीका अङ्ग पतन भएका विभिन्न धार्मिकस्थल तथा महादेव मन्दिरमा श्रद्धालुहरूको घुइँचो लाग्ने गर्दछ । ती स्थानहरूमा व्रतको अबधिभर मेला पनि लाग्ने गर्दछ । नेपालमा धेरै श्रद्घा र विश्वासका साथ विशेषतः महिलाहरूले गर्ने व्रत मध्येको एक श्री स्वस्थानी माताको व्रत हो । यो व्रतको भारत लगायत अन्य हिन्दु बहुल राष्ट्रमा त्यत्यी धैरै लोकप्रिय नभए पनि नेपालमा भने धेरै लोकप्रिय छ । तराईको छट पूजा र पहाडको श्री स्वस्थानी व्रत नेपालको संस्कृतिको एक अंग हो । श्री स्वस्थानी माताको व्रतकथामा उल्लेख गरिएकी साली नदी र श्लेशमान्तक वन हाम्रै देश नैपालको काठमाडांैमा छन् । यो व्रतकथामा उल्लेखित विषय वस्तु र घटना पनि नेपाल कै सेरोफेरोमा घटेको थियो भनी स्कन्द पुराणमा उल्लेख छ । सत्य युगमा यो व्रत सर्व प्रथम हिमालय पुत्रि पार्वतीले श्री महादेव लाई पति पाँऊ भनि गर्नु भएको थियो ।

स्वस्थानीको शाब्दिक अर्थ

स्वस्थानीको शाब्दिक अर्थ आफु बसेको स्थानको देवी भन्ने बुझिन्छ । आफु बसेकी स्थानकी देवीको पूजा गर्नु नै स्वस्थानी पूजा हो । उत्तरायण पछिको समय ध्यान योग साधनाका लागि उपयुक्त भएकाले स्वस्थान अर्थात् आफ्नो आत्मामा सम्पर्कको अभ्यास गर्नुलाई स्वस्थानी भनिएको विश्वास पनि छ । यसका लागि पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्मको समय राम्रो मानिन्छ ।

सुवर्ण वर्णकी, त्रिनेत्रधारी, प्रशन्न मुद्रा भएकी, कमल र सिंहासनमा बसेकी, चार हात भएकी देवीलाई स्वस्थानी देवी भनी स्कन्द पुराणमा उल्लेख गरिएको छ । ‘स्वस्थानीको चार हातमध्ये पहिलो हातमा नीलकमल, दोस्रो हातमा खड्ग, तेस्रो हातमा ढाल र चौथो हातमा वरदमुद्रा लिएकी देवी स्वस्थानी हुन् भनी पुराणमा उल्लेख गरिएको छ । यस्ती देवीको विधिपूर्वक व्रत गरेमा विछोड भएका जोडीको पुनः मिलन हुन्छ भन्ने विश्वास छ । रोग–ब्याध लागेको भए ठीक हुने र पति वा पत्नीका रुपमा कसैलाई इच्छाएको भए प्राप्त हुने कथासमेत प्रचलित छ । सत्ययुगमा हिमालय पर्वतकी पुत्री पार्वतीले महादेवलाई पति पाऊँ भनी विष्णुको निर्देशानुसार स्वस्थानीको व्रत गरेको कथा स्वस्थानीमा वर्णन गरिएको छ । व्रतपछि विछोडमा परेका नाग–नागिनीको समेत पुनः मिलन भएको कथामा उल्लेख छ । गोमा ब्राह्मणीले सप्तऋषिले सिकाएको व्रतविधि अनुसार व्रत गर्दा पुत्र वियोगबाट मुक्ति मिलेको र व्रतकै प्रभावले छोरा नवराज लावण्य देश हालको साँखु क्षेत्रको राजा भएको कथासमेत स्वस्थानीमा वर्णन गरिएको छ ।

साँखु शालिनदी मेला

यस अवसरमा एक महिनासम्म उपत्यकाको उत्तर पूर्वी भेगस्थित १८ किमीको दूरीमा रहेको साँखुस्थित शालिनदीमा माघ स्नानसहित माधवनारायणको मेला लाग्दछ । माघ महिनामा शालिनदीमा स्नान गरेर माधवनारायणको दर्शन गरेमा पाप पखालिई पुण्य कमाइने धार्मिक विश्वास छ, यो विश्वासमा प्रत्येक वर्ष यहाँ लाखौँ भक्तजन आउने गर्छन् ।

स्वस्थानी कथाको महत्व

नेपाली समाजमा स्वस्थानीको महिमा महत्वपूर्ण रहेको छ । यो कथाले समाजका अनेक पाटा बोकेको छ । यो तत्कालीन समाजको ऐना हो । केही आलोच्य पक्ष होलान तर धेरै अर्थमा सन्देशमूलक छ । स्वस्थानी कथाको सन्दर्भलाई राम्ररी हेर्ने हो भने, स्वस्थानी महात्म्यको पूर्वभागमा दक्षप्रजापतिकी पुत्री सतीदेवीको विष्णुको सहयोगमा महादेवको साथमा विवाह भएको र दक्षप्रजापतिले आफ्ना पति शिवको निन्दा गरेको सहन नसकी सतीदेवीले प्राण त्याग गरेको प्रसंग आउँछ । मध्यभागतिर भने हिमालय पर्वतकी पुत्री पार्वतीको रुपमा पुनर्जीवन लिएकी सतीदेवीले स्वस्थानीको व्रत गरेको प्रभावले महादेवलाई नै पतिको रुपमा प्राप्त गरेको प्रसंग आउँछ । स्वस्थानी व्रतकथाको अन्तिम अध्यायमा गोमा ब्राह्मणीले आफ्ना दुई बुहारी चन्द्रावती र लावण्यवतीलाई विभिन्न उपदेश गरी ढुकुटीको साँचो हस्तान्तरण गरेको प्रसंगबाट हाम्रो समाजमा पनि नयाँ पुस्तालाई मौका दिइनुपर्ने सन्देश पाइन्छ । काम र उमेरले पाका भएका व्यक्तिहरूको सम्मान गर्दै उनीहरूले सिकाएको पाठलाई शिरोधार्य गरे मात्र स्वस्थ समाज बन्ने दृष्टान्त पनि स्वस्थानी महात्म्यले दिन खोजेको छ ।

हाम्रो समाजमा पत्नीलाई पतिले शिरमा धारण गर्नु अथवा पतिभन्दा पत्नी उच्च स्थानमा रहनु लोकलज्जाको विषय हुने गर्छ । पत्नीले देवी नै भए पनि पतिको पाउ धुनुपर्ने, तर पतिले चाहिँं भुलवश वा प्रेमवश पत्नीको पाउ छुनु वा उसलाई उच्च स्थान दिनु अपराधजस्तै ठान्ने हाम्रो समाजमा यसरी महादेवले सतीको मृतदेहलाई शिरमा धारण गर्दा लोकलज्जा त्याग्नुपरेको कथाले भनेको छ । महादेवले प्रेमपूर्वक सतीलाई सम्मान गर्नुलाई सकारात्मक सन्देशका रूपमा हेर्नुपर्ने हुन्छ ।

आजको युगमा हाम्रो समाज देखासिकी र भौतिकता तर्फ अग्रसर भइरहेको छ । हाम्रा संस्कृति, रीति रिवाज र परम्परा सबै नासिदै गएका छन् । जताततै पाश्चात्य संस्कृतिको व्यापक प्रभाव परेको छ । भीषण सांस्कृतिक हमला जस्तो भइरहेको छ । यस्तो अवस्थामा हामी सबैले आफ्नो संस्कृति जोगाइ राख्ने प्रयास गर्नु पर्दछ । आफ्ना सन्ततिहरूलाई हाम्रा रीति–स्थिति पर्व, परंपरा, अनुशासन र कर्तव्यको बोध गराउनु पर्दछ । यो श्री स्वस्थानी माताको व्रत कुनै अन्धविश्वासी कर्मकाण्ड होइन । यो प्रत्यक्ष वैज्ञानिक पनि हो । यसले प्रत्येक स्त्री–पुरुषलाई भित्रै देखि इमानदार, कर्तव्यनिष्ठ, निरपराधी र अनुशासित बनाउनमा प्रत्यक्ष फाइदा पु¥याएकै हुन्छ । एक महिनासम्म एक छाक मात्रै भोजन ग्रहण गर्नाले पेट भित्रका विभिन्न पुराना रोगहरू स्वतः ठिक हुन्छन् । यो बेला भोजन पचाउन प्रयोग हुने ऊर्जालाई फुर्सद मिल्नाले पेटभित्रका विभिन्न अवशिष्ट पदार्थलाई निस्कासित गर्ने र रोगग्रस्त अंगहरूलाई मर्मत गर्ने अवसर मिलेको हुन्छ भनी वैज्ञानिकहरूले स्वीकार गरेका छन् । उपवासको अवधिमा पेटभित्र वर्षौ देखि संचित भएको मल निस्काशन हुने हुँदा पानी भने प्रसस्तै पिउनु पर्दछ भन्ने वैज्ञानिकहरूको धारणा छ । बढी पानी नपिए शरीरलाई हानी हुन सक्ने कुरा वैज्ञानिकहरू बताउँछन् । ईश्वर र धर्म प्रति खासै आस्था नराख्ने हाम्रो अहिलेको नयाँ पुस्ता घोर नास्तिक र अश्लील बन्दै गएको छ । संसारमा जति पाश्चात्य संस्कृतिको अनुकरण र नास्तिकता हिन्दु धर्ममा मौलाएको छ, त्यति अन्य धर्ममा नभएको एक सर्वेक्षणले देखाएको छ । यस्तो अवस्थामा हामी सवै संस्कृति पे्रमी, धर्म प्रेमी र देश प्रेमी जनताहरूले आफ्नो धर्म र संस्कृति जोगाई राख्न आ–आफ्नो तर्फबाट समुचित कदम चाल्न आवश्यक छ ।

Previous Post Next Post