अवेरनेस इन्टरनेसनल एकेडेमीमा विज्ञान प्रदर्शनी तथा खाद्य–उत्सव सम्पन्न

काठमाडौं । काठमाडौं महानगरपालिका–३१, नयाँ बानेश्वर शंखमूलमा रहेको अंग्रेजी आवासीय माध्यमिक विद्यालय ‘अवेरनेस इन्टरनेसनल एकेडेमी’ (एआईए) ले माघ २० गते शनिवार विद्यार्थी तथा अभिभावकहरूको भव्य सहभागितामा ‘विज्ञान प्रदर्शनी तथा खाद्य उत्सव २०८०’ हर्षोल्लासपूर्वक सम्पन्न गरेको छ । विज्ञान प्रदर्शनीका अतिरिक्त जुनियर कक्षाका विद्यार्थीहरूले फाइनआर्टमा आधारित विभिन्न कला पनि प्रस्तुत गरेका थिए ।

विज्ञान प्रदर्शनीमा विद्यार्थीहरूले लामो समयको मेहनतपछि तयार पारिएका रिबन कटिङ रोबोट, हाइड्रलिक ब्रिज, हाइड्रलिक क्रेन, हाइड्रलिक ब्रेक्स, एटोमिक मोडेल, स्मार्ट सिटी मोडेल, रेस्टुरेन्ट वेटर रोबोट, फेरिज ह्विल, लेजरबेस्ड होम सेक्युरिटी सिस्टम, भ्याकुम क्लिनर, वायर कन्ट्रोल्ड कार, क्ल्याप लाइट, स्मार्ट स्टिक, विन्ड मिल, भेन्डिङ मेसिन, न्युटन डिस्क, म्याच द फलविङ म्याथ एक्सरसाइज, भूकम्प अलार्म, वाटर लेभल इन्डिकेटर, स्मोक इटर, पेरिस्कोप, इलेक्ट्रोम्याग्नेट, अटोमेटिक डुअर लाइट, वाटर साइकल मोडेल, सोलार सिस्टम, लूप गेम, इन्जिनबेस्ड वाटर बोट, टचलाइट, आदि प्रस्तुत गर्दै आगन्तुकहरूलाई अंग्रेजी तथा नेपाली भाषामा प्रभावकारी ढंगबाट व्याख्यासमेत गरेका थिए । सोही अवसरमा विद्यार्थीहरूद्वारा निर्मित क्यामरारहित ड्रोनसमेत प्रदर्शनीस्थलमा उडाई सहभागी विद्यार्थी तथा सहयोगी शिक्षकहरूले आफ्नो विज्ञान तथा प्रविधि ल्याकत एवं कौशल प्रदर्शन गरेका थिए ।

उता पाककलातर्फ विभिन्न स्टलमा अनेक प्रकारका नेपाली परिकार निर्माण गरी डिस्प्ले गरिएका थिए । डिस्प्लेका साथ विद्यार्थीहरू ती परिकार निर्माणमा प्रयोग हुने पदार्थहरू र तयार पार्ने विधि र प्रक्रिया व्याख्यासमेत गर्दै थिए । स्टलमा राखिएका खानाहरू सहभागीहरूले उचित मूल्यमा कुपन काटेर खाने व्यवस्था समेत मिलाइएको थियो । विद्यार्थीहरू अर्डर लिने, कुपन काट्ने, रेकर्ड राख्ने तथा अर्डरअनुसारको खाना ‘सर्भ’ गर्नसमेत दिनभर व्यस्त थिए । खाना–उत्सवमा सेल रोटी, चुकाउनी, मम, समयबजी, बारा, पानीपुरी, चटपटे, चियालगायतका तराईदेखि हिमालसम्म प्रचलित विविध खाद्य परिकारहरू समावेश गरिएको थियो । विद्यालयका शिक्षिकाहरूको यस कार्यमा विशेष सहजीकरण रहेको थियो ।

प्रदर्शनी तथा खाद्य–उत्सवको माहोल साँच्चै उत्सवमय थियो । विद्यार्थीहरू तथा अभिभावकहरूबाट असाध्यै रुचिपूर्वक सबै स्टलहरूको अवलोकन भएको थियो । विहान ११ बजेदेखि साँझ ५ बजेसम्म चलेको उक्त कार्यक्रममा काठमाडौं महानगरपालिका शिक्षा विभागका अधिकारी मोतीलाल भट्टराईको प्रमुख आतिथ्य रहेको थियो भने विद्यालयका अध्यक्ष हरिप्रसाद ज्ञवाली, प्राचार्य विमल घिमिरे तथा अन्य सञ्चालकहरू विष्णुप्रसाद अर्याल, खगेश्वर गिरी, कृष्णप्रसाद गैरे, शैलेन्द्रकुमार झा तथा चेतनाथ कणेलको सक्रिय सहभागिता रहेको थियो । समग्र कार्यक्रमको संयोजन विद्यालय सञ्चालकद्वय शैलेन्द्रकुमार झा (विज्ञान शिक्षक) तथा कृष्णप्रसाद गैरे (गणित शिक्षक) ले गर्नुभएको थियो । कार्यक्रममा विविध प्रकारका मनोरञ्जनात्मक तथा ज्ञानवद्र्धक उत्सवमुखी खेलहरू पनि समाविष्ट थिए ।

‘यस वर्षको कार्यक्रमलाई हामीले साना कक्षादेखि ठूला कक्षासम्मका विद्यार्थीहरूको प्रतिभा, ज्ञान तथा कौशल प्रदर्शन हुनेगरी ‘स्टिम’ मोडेल (साइन्स, टेक्नोलोजी, इन्जिनियरिङ, आर्ट, म्याथमेटिक्स सम्मिश्रित) मा आयोजना गरिएको हो’, विद्यालयका प्राचार्य विमल घिमिरेले बताउनुभयो । ‘एआईएले विगतमा पनि यस्ता कार्यक्रम गर्ने गरेकोमा विश्वव्यापी समस्याका रूपमा रहेको कोरोना महामारीका कारण केही समय स्थगित भएको थियो, अब भने हामी हरेक वर्ष यस खालका सिर्जनात्मक तथा विज्ञान एवं प्रविधिउन्मुख कार्यक्रमलाई अझ बढी जोड दिनेछौं’, विद्यालयका उपप्राचार्य खगेश्वर गिरीले भन्नुभयो ।









Previous Post Next Post