वसन्त पञ्चमी: कला, वाणी र विद्याकी देवी माता सरस्वतीको पूजा आराधना

सरस्वती मया दृष्टा वीणा पुस्तक धारिणी।।

हंस वाहन संयुक्ता विद्यादानं करोतु मे।।१।।

प्रथमं भारती नाम द्धितीयं च सरस्वती।।

तृतीयं शारदा देवी चतुर्थ हंसवाहिनी।।२।।

पञ्चमं तु जगन्माता षष्ठं वागीश्वरी तथा।।

सप्तमं चैव कौमारी चाष्टमं वरदायिनी।।३।।

नवमं बुद्धिदात्री च दशमं ब्रम्हाचारिणी।।

एकादशं चन्द्रघण्टा द्वादशं भुवनेश्वरी।।४।।

द्वादशै तानि नामानि त्रिसन्ध्यं यः पठेन्नरः।।

जिहाग्रे वसते तम्य ब्रम्हारुपा सरस्वती।।५।।

चन्द्रको समान उज्जवल हुनुन्छ, सेतो वस्त्र लगाएर हातमा वीणा र वरदान दिने स्फटीकको मालासहित शुसोभीत हुनुहुन्छ, सेतो कमलको फूलमा आसिन ती देवी जसको ब्रह्मा, विष्णु तथा शिव आदि सबैले उपासना गर्नुहुन्छ उनै माता सरस्वती हाम्रा अज्ञानताहरु चिर्दै हामीलाई निर्मल विद्या दिनुहोस् ।

सरस्वती पूजा या, श्रीपञ्चमी भनौ वा वसन्त पञ्चमी विद्या र सङ्गीतकी प्रतिरूप सरस्वतिको पुजा आराधना गरी मनाइने विशेष दिन । वसन्त पञ्चमीबाट क्रमशः वसन्त ऋतुको शुरुवात हुने मान्यता रहेको छ । यो हिउँदको मुटु छेड्ने जाडो र पानीको ठिहिबाट क्रमशः अब कोईलीको कुहु कुहु अनि न्यानोपनाको राजा मौसम बसन्तको सेरोफेरोमा स्वागत छ ।

वसन्त पञ्चमी अर्थात सरस्वती पुजा । यसको धार्मिक महत्व ठूलो रहेको छ । प्रत्येक वर्ष माघ शुक्ल पक्षको पञ्चमीका दिन वसन्त पञ्चमी मनाइन्छ । यस दिन कला, वाणी र विद्याकी देवी माता सरस्वतीको पूजा आराधना गरिन्छ । देवी माताको पुजा गर्नाले बौद्धिकता बढ्छ र कलात्मक गुण बढ्छ भनिन्छ । यस वर्ष वसन्त पञ्चमी फागुन २ गते बुधबार परेको छ ।

माघ शुक्ल पञ्चमीका दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व विद्याकी अधिष्ठात्री देवी सरस्वतीको निष्ठापूर्वक पूजा–आराधना गरी मनाइँदैछ ।

चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनहरूले भारती, शारदा, हंसवाहिनी, जगन्माता, वागीश्वरी, कौमारी, वरदायिनी, बुद्धिदात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता नामले पुकार्ने गर्छन् ।

विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आ–आफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा पूजा–आराधना गर्छन् । सरस्वतीलाई तान्त्रिकहरूले तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा मान्छन् ।

वैदिक सनातन हिन्दू संस्कारका अत्यन्त ब्यवहारीक आयामहरु छन् । यी संस्कारहरु नेपालीपनका अभिन्न अङ्गहरु भएका छन् । हलो, गोरु, माटो, वोट विरुवा, कुकुर लगायत चेलीवेटी, औजारहरु अनि अन्नवालीहरुकासाथै आजको दिन श्रृजना अनि ज्ञानको पूजा गर्ने दिन हो ।

‘ब्रह्मा भिभर्त पूराण’मा प्रष्ट रूपमा उल्लेख गरिएको छ कि विद्या, कला, शब्द, विज्ञान अनि विचारकी देवी सरस्वतीलाई आजको दिनमा सबैले सम्झना गर्दै पूजा गरिन्छ भनि भगवान श्री कृष्णले वरदान दिनुभएको हो  । विहानै उठेर प्रातः स्नान पश्चात् चोखोनितो गरी सफा कपडा लगाएर कलश स्थापना गरिन्छ अनि क्रमशः गणेश, विष्णु, शिव आदि देवताहरुको अर्चना गरिन्छ, सूर्यको अर्चना पनि गरिँदै सरस्वतीको उपासना गरिन्छ ।

विद्यालयहरुमा त यो दिन विशेष रमझम रहन्छ, तराईतिर रङ्गिन गुलिया रसिला बुनियाँको दाना, बयर तथा अन्य फलपूलहरू प्रसादीका रुपमा बाँडिन्छ । कतिपय विधालयमा विद्यार्थीहरुको सक्रियतामा शाहाकारी भोजनै आयोजना समेत गरिने गरिएको छ । विभिन्न रङ्ग रगिंन तोरणहरु झुण्ड्याएर, अशोकको रुखको पात या केराका दाम्चा अनि बाँसको प्रयोग गरेर बनाएको प्रवेश द्वारहरुबाट आज धेरै विधालयहरु सजिसजाउ रहन्छ ।

विद्यार्थीहरुका लागि वसन्त पञ्चमीको अर्को रौनकता भने विद्यालयको दैनिक पोशाक विनानै विद्यालय प्रवेश गर्न पाउनु हो, फरक फरक पोशाकमा रङ्गीन विद्यार्थीहरुको लर्को धेरै विद्यालय परिसरमा देखिन्छ ।

काठमाडौमा बिभिन्न सरस्वती मन्दिरहरू जस्तै नीरबाराही, लाजिम्पाट, स्वयम्भू, गैरीधाराको नीलसरस्वती, ललितपुरको लेले आदिमा मेला लाग्ने गर्छ भने नेपालभरिका धेरै मन्दिर अनि विधाको केन्द्र विधालयहरुमा जमघट रहन्छ । पशुपतिमा रहेको सरस्वतीको मुर्ति जसलाई वुद्धमार्गीहरुले मञ्जुश्रीका रुपमा पनि पूजा गर्दछन् । त्यसै प्रतिमामा वसन्त पञ्चमीमा विशेष पूजा अर्चना गर्ने गरिन्छ ।

वसन्त पञ्चमीकै दिनमा धेरैले अक्षराम्भ गर्ने परम्परा नै बनेको छ । विद्याकी देवी सरस्वतीको दिन अनि धेरै जनाको अक्षराम्भ भएको अनि कलम किताब, मसी, सिसाकलम अनि पुस्तक संगको प्रथम साक्षात्कार भएको दिन भएकाले पनि हरेक बर्षको सरस्वती पूजाका दिन राष्ट्रिय पुस्तक दिवस पनि मनाइने गरिन्छ । केही बर्षअघि मात्रै राष्ट्रिय पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ्घले सरकारसँग सरस्वती पूजाका दिनलाई राष्ट्रिय पुस्तक दिवस घोषणा गर्न माग गरेको हो । महासङ्घले आफ्नै पहलमा विभिन्न कार्यक्रमहरु गरेर राष्ट्रिय पुस्क दिवस मनाउने गरिन्छ । हरेक पुस्तकका पाना अनि अक्षरहरुमा बिधा की देवी सरस्वतीको बास छ, सरस्वतीको कृपा अनि अनुकम्पा नेपाली वर्णमाला, व्याकरण अनि शव्दमालामा सदैव रहिरहोस् । बिधाको कमी यस भूमिमा कदै नहोस् ।

अर्कोतर्फ वसन्त पञ्चमीको दिन सर्जकहरुको दिन हो । आफ्ना सिर्जना र शब्दहरुको पूजागर्ने विशेष दिन सरस्वती पूजाको सम्पूर्ण सर्जकलाई शुभकामना, यो सिर्जनाको डोर अनन्त कालसम्म रहिरहोस् । सिर्जनाका औजारहरु कलम, मसी अनि कागजको पूजा गरिन्छ, सरस्वतीको असिम कृपाले सकारात्मक शब्दहरु, भावहरु, ब्याख्याहरुको पर्दापण भईरहोस्, सर्जकहरु चाहे लेखक हुन् या गायक या ब्यूटिसियन हुन या सुचिकार या घर बनाउने मिस्त्री देखि मुर्ती वनाउने मुर्तिकारसम्म सबैले आफ्नो सिर्जनाको सम्मान तथा मूल्य सहि पाउन्, जाँङ्गर लागिरहोस अनि सिर्जनाको उजेलीले समाजको अँध्यारो सँधै दुर होस् ।

Previous Post Next Post