एआईएका एसईई उत्कृष्टले पाए ४० हजार नगद पुरस्कार

काठमाडौँ । शंखमूलस्थित अंग्रेजी बोर्डिङ सेकेन्डरी स्कुल ‘अवेरनेस इन्टरनेसनल एकेडेमी’ (एआईए) ले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा विद्यालयबाट सर्वोत्कृष्ट ग्रेड ल्याउने छात्रा र छात्रलाई पुरस्कृत गरेको छ ।

एआईएले २०८० को एसईईमा विद्यालयबाट सर्वोत्कृष्ट ग्रेड ल्याउने छात्रा पल्पसा पाण्डे तथा छात्र रिजन घिमिरेलाई विद्यालय परिसरमा आयोजित कार्यक्रमबीच जनही २० हजार नगद राशिको पुरस्कार र प्रशंसापत्र प्रदान गरेको हो ।

कार्यक्रममा प्रमुख अतिथि संघीय वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही तथा विशेष अतिथि काठमाडौं महानगरपालिका वडा ३१ का वडाध्यक्ष सरोज ढकाल हुनुहुन्थ्यो ।

हरेक वर्ष प्रदान गरिने २० हजार राशिको ‘प्रसिद्ध कँडेल स्मृति उत्कृष्ट विद्यार्थी पुरस्कार’ रकममा विद्यालयका तर्फबाट समेत उत्तिकै रकम थप गरी हरेक वर्ष प्रदान गरिने २० हजार राशिको थप ‘एआईए प्रोत्साहन पुरस्कार’ गरी दुई उत्कृष्ट विद्यार्थीलाई कुल ४० हजार राशिको पुरस्कार दामासाही हिसाबले प्रदान गरिएको विद्यालयका प्राचार्य विमल घिमिरेले बताउनुभयो ।

‘प्रसिद्ध कँडेल स्मृति उत्कृष्ट विद्यार्थी पुरस्कार’ विगत छ वर्षदेखि नियमित रूपमा प्रदान गरिँदै आएको कुरा पुरस्कारका संस्थापक तथा विद्यालयका संस्थापक निर्देशक चेतनाथ कणेलले बताउनुभयो ।

विद्यालयका अध्यक्ष हरिप्रसाद ज्ञवालीको सभापतित्वमा सञ्चालित कार्यक्रममा यो वर्ष एसईईमा उत्तीर्ण ७० जना छात्रछात्राहरू, उहाँहरूका अभिभावकहरू, आमन्त्रित अतिथिहरू, सम्पूर्ण शिक्षकशिक्षिका तथा कर्मचारीहरू र हाल कक्षा १० मा अध्ययनरत सम्पूर्ण छात्रछात्राहरू गरी करिब ४५० जनाको उपस्थिति थियो ।

कक्षा १० का विद्यार्थीहरूबाट विशेष सांगीतिक कार्यक्रमसमेत प्रस्तुत भएको सो कार्यक्रममा सम्पूर्ण एसईई उत्तीर्ण विद्यार्थीहरूलाई विशेष सम्मानपत्र तथा ‘मायाको चिनो’सहित सम्मान तथा विदाइ गरिएको थियो ।

कार्यक्रमको सञ्चालन विद्यालयका संस्थापक तथा उपप्राचार्य खगेश्वर गिरीले गर्नुभएको थियो भने प्रमुख अतिथि, विशेष अतिथि, विद्यालयका प्राचार्य विमल घिमिरे, प्रबन्धक विष्णुप्रसाद अर्यालले सारगर्भित बधाई मन्तव्य प्रकट गर्नुभएको थियो । कार्यक्रम व्यवस्थापनमा संस्थापक निर्देशक तथा वरिष्ठ शिक्षकहरू कृष्णप्रसाद गैरे, शैलेन्द्रकुमार झा तथा अन्य शिक्षक एवम् कर्मचारीहरू सक्रिय हुनुहुन्थ्यो ।

कार्यक्रमलाई थप रौनकता प्रदान गर्न एसईई उत्तीर्ण डिपलभ अधिकारी तथा विमल गिरीले आ–आफ्ना कविता प्रस्तुत गरेका थिए भने छात्रा यश्बी गैरेले आकर्षक बालनृत्य प्रस्तुत गरेकी थिइन् ।

सदाझैं यस वर्ष पनि एआईएबाट शतप्रतिशत विद्यार्थी उच्च श्रेणी (सबैजना ए प्लस तथा ए) मा उत्तीर्ण भएको विद्यालयले जनाएको छ । स्व. प्रसिद्ध कँडेल यसै विद्यालयबाट २०६६ सालमा सर्वोत्कृष्ट भएको कुरा उहाँकी माता तथा पुरस्कार संस्थापिका सीता भण्डारी कँडेलले बताउनुभयो । उच्च शिक्षा अध्ययनको सिलसिलामा अमेरिकामा रहेको बेला उहाँको असामयिक निधन भएको थियो ।

यसपटकको एआईएको ‘एसईई सम्मान कार्यक्रम २०८१’ १५औं संस्करणको कार्यक्रम रहेको  विद्यालयका परीक्षा संयोजक कृष्णप्रसाद गैरेले बताउनुभयो । ‘‘यसपटक सर्वोत्कृट हुने दुबै विद्यार्थीको जीपीए ३.९ रहेको थियो भने ७० जनाको औषत जीपीए ३.५८ रहेको थियो’’, सञ्चालक खगेश्वर गिरीले भन्नुभयो ।







Previous Post Next Post