हिरोसिमा र नागासाकीमा भएको त्रासदीपूर्ण घटनाको स्मरण

काठमाडौँ । जापानको हिरोसिमा र नागासाकीमा अमेरिकाले पारमाणविक बम प्रहार गर्दा भएको नरसंहारको ७९ औँ स्मृति दिवस मनाइएको छ ।

नेपाल अफ्रो–एशियाली जनएकता संगठन (आपसो) नेपालको आयोजनामा शुक्रबार दोस्रो विश्वयुद्धका क्रममा अमेरिकाले जापानको हिरोसिमा र नागासाकीमा बम प्रहार गर्दा भएको त्रासदीपूर्ण घटनाको स्मरण गरिएको हो ।

कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले युद्धबाट त्यत्रा शहर ध्वस्त भए र फेरी उठे, संसारका अरु देश कसरी विकास भइरहेका छन् त्यसबाट नेपालले पाठ सिक्नुपर्ने बताउनुभयो ।

हतियारले समस्याको समाधान नगर्ने भन्दै उहाँले शान्तिपूर्ण तरिकाले राष्ट्र र जनताको आवश्यकताका कुरालाई अगाडि बढाएर समस्या समाधान गर्नुपर्ने बताउनुभयो ।

त्रिभुवन विश्वविद्यालय रसायनशास्त्र केन्द्रीय विभागका प्रा.डा. मोतीलाल शर्मा भुसालले विश्वका धेरै देशबीच आणविक हातहतियार बनाउने होडबाजी चलेको भन्दै यसले विश्वलाई फाइदा नगर्ने बताउनुभयो ।

ज्ञान–विज्ञानका रचनात्मक उत्पादनलाई विध्वंसको औजार बनाइएका घटना इतिहासमा अनेकौं रहेपनि तिनीहरूमा सबैभन्दा खतरनाक र दीर्घकालीन प्रभाव पार्ने घटना जापानका दुई शहरमाथि गराइएको परमाणु बमको प्रहार नै भएको बताउनुभयो । मानव सभ्यतालाई नै चुनौती दिनेगरी मानवले मानवतामाथि क्रूरतम हमला गरेको घटनाका रूपमा यसलाई बुझ्न सकिने उहाँले बताउनुभयो ।

संस्थाका महासचिव प्रा.डा. गोपाल पोखरेल ‘विवश’ विश्वलाई युद्धको आवश्यकता नभएकाले अब विचारको युद्ध अगाडि बढाउनुपर्ने बताउनुभयो ।

कार्यक्रममा संस्थाका अध्यक्ष कृपासुर शेर्पा, डा. हेमु काफ्ले, परराष्ट्रविज्ञ हिरण्यलाल श्रेष्ठलगायतले हिरोसिमा र नागासाकी आक्रमण मानव सभ्यताको कालो दिन भएको बताउनुभएको थियो ।

सन् १९५८ मा इजिष्टको कायरोमा सम्पन्न एशिया र अफ्रिकाका मुलुकको साझा प्रयासबाट अफ्रो–एसियाली जनएकता सङ्ठन स्थापना गरी नवउपनिवेशवाद, साम्राज्यवाद र विस्तारवादको विरुद्धमा काम गरिँदै आएको छ । उक्त सङ्गठन एसिया, अफ्रिका, ल्याटिन अमेरिकालगायतका ९० भन्दा बढी देशमा विस्तार भइसकेको छ ।

सन् १९४५ अगष्ट ६ तारिखको दिन बिहान ८ बजेर १५ मिनेटमा अमेरिकी बमवर्षक विमानले हिरोसिमाको आकाशबाट पारमाणविक बम ‘लिटिल बोय’ खसालेको थियो । बम खसेको केही समयमा नै हिरोसिमा खण्डहर बनेको थियो । लाखौँले ज्यान गुमाए, हजारौँ घाइते, अङ्गभङ्ग भएका थिए । भौतिक संरचना ध्वस्त भए। हिरोसिमामा मात्र दुई लाख मानिसको मृत्यु भएको थियो ।

हिरोसिमा तहसनहस भएको तीन दिनपछि अगष्ट ९ तारिखका दिन बिहान ११ बजेर २ मिनेट जाँदा नागासाकी सहरमा पनि अर्को पारमाणविक बम ‘फ्याट म्यान’ खसालिएको थियो । नागासाकी निवासीले पनि हिरोसिमाकै नियति व्यहोर्न बाध्य भएका थिए । नागासाकीमा मात्रै एक लाख ४० हजारभन्दा बढी मानिसले ज्यान गुमएका थिए ।

Previous Post Next Post