अटिजम रोग नभई मस्तिष्कको बनावटका क्रममा उत्पन्न असन्तुलनबाट देखिने अवस्था हो

काठमाडौँ । बालबालिकामा देखिने अटिजम कुनै रोग नभई मस्तिष्कको बनावटका क्रममा उत्पन्न असन्तुलनबाट देखिने अवस्था भएको सरोकारवालहरूले बताएका छन् ।

समाजमा अटिजमलाई रोग भन्ने गलत बुझाइ भएको भन्दै उनीहरुले यो रोग नभएर बालबालिकाको मस्तिष्क विकासका क्रममा आउने अवस्था भएको उनीहरुको भनाई छ ।

महिला उत्प्रेरणा विकास मञ्चद्वारा चन्द्रागिरी नगरपालिकामा सञ्चालित अटिजम, बौद्धिक अपाङ्गता केयर सेन्टरको दोस्रो वार्षिकोत्सवको अवसरमा सम्मान एवम् बजेट कार्यान्वयनमा सरोकारवाला निकायको भूमिका कार्यक्रममा सरोकारवालाहरूले यस्तो बताएका हुन् ।

मानसिक अस्पताल लगनखेलका डाक्टर अमित झाले अटिजम रोग नभएर फरक क्षमता भएको भन्दै  मोबाइल, टेलिभिजन र अन्य विद्युतीय उपकरणको प्रयोगबाट अटिजम नहने स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “अटिजम मोबाइल धेरै हेरेर हुने होइन तर अटिजमको लक्षण भएका बालबालिकाले मोबाइल डिभाइसको प्रयोग गर्दा अटिजमको तह भने वृद्धि हुन सक्छ ।”

चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले अटिजम र बौद्धिक अपाङ्गतालाई समाजले रोगका रुपमा नभई एक फरक अवस्थाका रुपमा लिनुपर्ने बताउनुभयो । उहाँले यस्तो अवस्था भएका बालबालिका र अन्य समूहका व्यक्तिलाई नगरपालिकाले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यव्रmममा अटिजम, बौद्धिक अपाङ्गता भएका बालबालिकाको बारेमा समाचारमार्फत सकारात्मक सन्देश प्रवाह गरेकोमा गोरखापत्र दैनिकका उप—सम्पादक अजय शर्मालाई कदरपत्रसहित सम्मान गरिएको छ । यसरी सम्मानित हुने सञ्चारकर्मीहरूमा नयाँ पत्रिकाका प्रविण देवकोटा, आवरन्यूज टिभीका ज्ञानेन्द्र महत र नागरिक दैनिकका सुबोध गौतम हुनुहुन्छ ।

Previous Post Next Post