काठमाडौं । बाल कलाकार सचिन परियारको निधन भएको छ । महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार गराइरहेका परियारको बिहीबार बिहान निधन भएको अस्पताल स्रोतले जानकारी दिएको छ ।
स्वास्थ्यमा समस्या देखिएपछि पुस ६ गते अस्पताल भर्ना गरिएका उनको केही दिनदेखि आइसीयूमा उपचार भइरहेको थियो ।
गुल्मीका सचिन सामाजिक सञ्जालबाट चर्चामा आएका थिए । भाइरल भएपछि उनले गीत गाउनुका साथै म्युजिक भिडिओमा अभिनयसमेत गरेका थिए ।
सचिनको बिहीबार नै पशुपति आर्यघाटमा अन्त्येष्टि गर्ने तयारी रहेको पारिवारिक स्रोतले जनाएको छ ।
सचिनको निधनमा थुप्रै कलाकारहरूले श्रद्धाञ्जली व्यक्त गरिरहेका छन् ।
१३ वर्षीय सचिनको केही दिनदेखि आईसीयूमा उपचार भइरहेको थियो । अघिल्लो वर्षदेखि नै स्वास्थ्य समस्याका कारण थलिएका उनको कम्मरमुनिको भाग राम्रोसँग चल्दैन थियो । यसअघि शल्यक्रिया गरेर तंग्रिएका सचिन आफ्नै बलमा उभिन नसक्ने अवस्थामा थिए ।
यसअघि टिभी कार्यक्रम ‘इन्द्रेणी’मा पुगेका उनी राम्रोसँग बोल्न सक्ने अवस्थामा थिएनन् । भाइरल बालगायकका रुपमा परिचित सचिनले गाएका गीत सामाजिक सञ्जालमा छाएका छन् ।
सचिनले अभिनेता राजेश हमालसँग एक म्युजिक भिडियोमा अभिनय गरेका थिए । हास्य श्रृंखला ‘मेरी बास्सै’मा पनि अभिनय गरेका थिए । ‘रातो रबर एक’, ‘रुमाल खस्छ कि’, ‘के छ र हजुर’, ‘बरको छायाले’ लगायत उनले गाएका प्रमुख गीत हुन् ।